पोखरा । पोखरा बस व्यवसायी समितिले बैशाखबाट नगर क्षेत्रमा कुद्ने सार्वजनिक यातायात(बस)हरुमा जीपीएस प्रविधि जडान गर्ने भएको छ । 

यो प्रविधि बसमा जडान भएपछि घरमै बसी बसी मोवाइल वा कम्प्युटरबाटै यात्रुले बस कहाँ आइपुग्यो, कहाँ जाँदा कति भाडा लगायतको विषयमा जानकारी प्राप्त गर्नेछन् । काठमाण्डौमा हाइटेक बस संचालन भएपछि देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखराका व्यवसायी समेत त्यहाँ सोही खालका बस संचालन गरी यात्रुलाई स्तरीय सेवा दिन तातेका हुन् । 

काठमाण्डौमा हालैबाट आफ्नो सेवा सुरु गरेको महानगर यातायातका बसहरुले दिएको सेवा झै विशेष एपबाट यात्रुलाई बसको रुट, आइपुगेको स्थान, सिट खालि भए या नभएको, भाडादर लगायतको विषयमा जानकारी दिने व्यवस्था गर्न लागिएको हो । 

पोखरा बस व्यवसायी समितिका सचिव अमृत शर्माले अब आफूहरुको कम्पनीबाट संचालित सार्वजनिक यातायातका साधनको विषयमा यात्रुले आफ्नो कम्प्युटर र मोबाइलबाटै जानकारी पाउनेछन् । 

समितिले पुराना ३४ वटा बस विस्थापन गर्दै युरो–३ मोडलका नयाँ बस ल्याउने प्रक्रिया समेत थालिसकेको छ । सबै बसहरुमा ग्लोबल पोजिसनिङ सिस्टम(जिपिएस)वैशाखभित्रै जडान गर्ने शर्माले जानकारी दिए । 

गण्डकी अञ्चल यातायात व्यवस्थापन अध्ययन सुधार सुझाव समितिको प्रतिवेदन २०६९ ले गरेको निर्देशन कार्यान्वन गर्दै विस्थापनको सट्टामा नयाँ बस ल्याउन लागिएको उनको प्रष्टोक्ति छ । त्यसमा थप सुविधा दिने तयारी रहेको पोखरा बस व्यवसायी समितिका अध्यक्ष रमेश गिरीले जानकारी दिए । ‘पुराना मोडलका सबै विस्थापन गरेर नयाँ बस ल्याउँदै छौं,’ उनले भने, ‘उपभोक्ताको हित र समयलाई ध्यानमा राखेर अब छिट्टै वेबसाइटसमेत सुरु गर्ने तयारी थालेका हौं ।’

समितिले सोमबारबाटै पोखराको छोरेपाटन र फेवातालबाट सिधै लामाचौर महेन्द्र गुफासम्म बस सेवासमेत संचालन थालेको छ । उनका अनुसार बिहान सबेरैदेखि साँझसम्म नियमित २४ वटा बसले उक्त सेवा प्रदान गर्नेछन् ।  

पोखरामा सञ्चालित माइक्रो बसलाई व्यवस्थित रुपमा पार्किङ गर्न लामाचौर क्षेत्रमा बसपार्क निर्माणका लागि पहल समेत भइरहेको सचिव शर्माले बताए । ‘हामीलाई कम्तीमा साढे ६ रोपनी जग्गा नभई हुँदैन, त्यसका लागि नगरपालिकासँग पूर्वाधार निर्माणका लागि र जग्गा प्राप्तिका लागि पहल भइरहेको छ।’–उनले भने ।

२०४९ सालदेखि पोखरा सहर र आसपासका क्षेत्रमा सार्वजनिक सवारी सञ्चालन गर्न थालेको समितिसँग हाल २ सय ५१ वटा नगर बस छन् । तीमध्ये २३ वटा ग्रामीण र बाँकी पोखरा उपत्यकाभित्र चल्छन् । पोखरा सहरभित्र चल्नेमध्येका सवारी पनि आलोपालो प्रणालीमा चल्छन् ।