काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा क्षेत्रीय कार्यालयको संचालनसँगै सेवा बिस्तारको कार्य थालेको छ ।

आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउन तथा शाखा कार्यालयहरुको सशक्तिकरणबाट जीवन बीमा व्यवसायको बजार बिस्तार गर्ने उद्देश्यले क्षेत्रीय कार्यालय पोखरा स्थापना गरिएको कम्पनीले जनाएको छ ।

एक समारोहका बीच बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले सो कार्यालयको उद्घाटन गरे । समुद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत विवेक झाले क्षेत्रीय कार्यालय पोखराको स्थापनाबाट यस क्षेत्रको व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बिश्वास व्यक्त गरे । उनले बीमितहरुको लगानी प्रतिफल बृद्धि गर्न कम्पनीले हरसम्भव प्रयास गर्दै आएको र सोको सुनिश्चितताका लागि दीर्घकालीन लगानीका क्षेत्रहरुमा लगानी बिस्तार गर्ने प्रयास गरिरहेको भएता पनि सोको पर्याप्त उपलब्धता नभइरहेकोले बीमा क्षेत्रका लागि दीर्घकालीन सरकारी बिकास ऋणपत्रहरुको आवश्यकता रहेको बताए ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाईले जीवन बीमा क्षेत्रले आम जनताको स–सानो बचत परिचालन गरी पूँजी निर्माणमा महत्वपूूर्ण भूमिका निर्वाह गर्दैआएको र जीवन बीमा क्षेत्रसंग रहेको ठूलो पूँजीलाई मुलुकको बिकास निर्माणका लागि उपयोग गर्न बिशेष प्रकारको बिकास ऋणपत्र ल्याउन पहल गर्ने बताए । उनले जीवन बीमाका क्षेत्रमा कम्पनीले गर्दै आएको सफलताहरुको सराहना गर्नुहुँदै समग्र बीमा क्षेत्रको बिकास र बिस्तारका लागि आफू क्रियाशील रहने बताए ।

कम्पनीका संचालक कमलेशकुमार अग्रवालले बिद्यमान परिवेशमा क्षेत्रीय कार्यालयको आवश्यकता झनै बढ्न गएको एवम् विकेन्द्रीकरणको माध्यमबाट शाखा कार्यालयहरुको अनुगमनमा प्रभावकारिता बृद्धि भई बीमितहरुले सरल र सहज बीमा सेवा उपलब्ध हुने आशा व्यक्त गरे ।