काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमीटेडले प्रवद्र्धन गरिरहेको २ म्युचुअल फण्डले समेत चैत मसान्तसम्म राम्रो प्रदर्शन गरेका छन् ।

सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीम र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १ ले फागुन मसान्तको तुलनामा चैत मसान्तमा उत्सहाप्रद नतिजा निकालेका हुन् ।

यी दुवै म्युचुअल फण्ड ५ वर्षे बन्दमुखी स्कीम हुन् ।

शुक्रबार प्रकाशित बित्तीय विवरण अनुसार 'सिद्धार्थ ओरिएन्टेड स्कीम'को खुद सम्पत्ति मूल्य(नेट एसेट भ्यालु–एनएभी)१३ रुपैयाँ ५० पैसाबाट बढेर १६ रुपैयाँ कायम भएको हो ।

एक अर्ब रुपैयाँबाट सुरु भएको यो स्किमले चैत मसान्तसम्म सूचिकृत कम्पनीको सेयरमा ९२ करोड ६३ लाख, सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा १० करोड २१ लाख लगानी गरेको छ ।

फागुन मसान्तसम्म यो स्कीम ३३ करोड ३३ लाख खुद घाटामा रहेकोमा त्यसलाई घटाएर चैत मसान्तसम्म ८ करोड १२ लाखमा झार्न सफल भएको छ ।

यो स्किमले सबैभन्दा धेरै एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ को कुल २९ लाख ७० हजार इकाई खरीद गरेको छ । यो स्किमको बिहीबारको अन्तिम कारोबार मूल्य प्रति इकाई १२ रुपैयाँ ७४ पैसा रहेको छ ।

यसैगरी, 'सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम'ले समेत राम्रो प्रगति गरेको छ । फागुन मसान्तसम्म यो स्किमको एनएभी २३ रुपैयाँ ४८ पैसा रहेकोमा चैत मसान्तसम्म बढेर २८ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

यो स्किम ५० करोडबाट सुरु भएको थियो । चैत मसान्तसम्म यो स्किमले सूचिकृत कम्पनीको सेयरमा ८७ करोड ५३ लाख, सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा १० करोड लगानी गरेको छ ।

फागुन मसान्तसम्म ३४ करोड ३४ लाखको उच्च घाटामा रहेको स्किमले चैत मसान्तसम्म घाटालाई घटाएर ९ करोड ४ लाखमा झारेको छ ।

कुल लगानीमध्ये यो स्किमले सबैभन्दा धेरै जलविद्युत लगानी तथा विकास कम्पनीको ४६ हजार २ सय ८७ कित्ता सेयर खरीद गरेको छ । यो स्किमको बिहीबारको मितिमा अन्तिम कारोबार मूल्य प्रति इकाई २६ रुपैयाँ २० पैसा रहेको छ ।