काठमाण्डौ । आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट सगरमाथा इन्स्योरेन्सको सेयरधनीले २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५७ नगद लाभांश पाउने भएका छन् । 

इन्स्योरेन्सको बुधबार काठमाण्डौमा सम्पन्न २० औं वार्षिक साधारणसभामा संचालक समितिले गरेको बोनस वितरणको प्रस्ताव पारित भएको हो । 

संचालक समितिका अध्यक्ष रामकृष्ण मानन्धरले सो प्रस्ताव पेश गरेकामा सर्वसम्मतिले पारित भएको थियो । 

सभामा वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष मानन्धरले आर्थिक वर्ष २०७२/७३ मा कम्पनीले अघिल्लो आ.व. को तुलनामा ८.८६ प्रतिशतले व्यवसाय वृद्दि गरी रु. १ अर्ब ११ करोड २१ लाख २२ हजार प्रिमियम आर्जन गरी खुद मुनाफा रु. २० करोड ६७ लाख ५४ हजार आर्जन गर्न सफल भएको जानकारी गाएका थिए । 

चालु आर्थिक वर्षको पुस २६ गतेसम्म कम्पनीले रु. ६४ करोड बीमा प्रिमियम सङ्कलन गरिसकेकोले लक्षित प्रिमियम हासिल गर्न सफल हुने पनि उनले सभालाई जानकारी गराएका थिए।

कम्पनीको लगानी रु. १०० करोड भन्दा बढी रहेको र आर्थिक अवस्था मजबुद हुँदै गएकोमा सेयरधनीले संचालक र व्यवस्थापकहरुको कामको पं्रशसा गरेका थिए । 

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले कम्पनीमा मोटर बीमा गराएका ग्राहकवर्गलाई छिटो छरितो सेवा उपलब्ध गराउने उद्देश्यले २०७३ श्रावण २५ गते बाट सञ्चालनमा आएको सगरमाथा भीआइपी अन दि स्पट योजनाबाट मोटर बीमा अन्तर्गत पर्ने दाबीमा तत्काल दाबी फछ्र्यौट गरिने हुँदा बीमितहरूमा कम्पनी प्रतिको विश्वास अझ बढ्न गई कम्पनीको व्यवसाय वृद्धिमा टेवा पुग्न जाने दाबी गरे । उनले यो योजनाको सकारात्मक प्रभाव देखिएको जानकारी गराउँदै आगामी दिनमा बीमा क्षेत्रमा नयाँ नयाँ योजना ल्याउन लागिपर्ने वचन दिए । 

यो बिमा कम्पनीले प्रधान कार्यालय बाहेक ३३ वटा शाखा/उपशाखा कार्यालयहरूबाट बीमा सेवा उपलब्ध गराउँदै आएकोमा आ.व. २०७३/७४ को आषाढ मसान्त सम्ममा आफ्नो सेवा विस्तार गरी शाखा संख्या ४२ वटा पुर्याउने लक्ष्य लिइएको उनले जानकारी दिए ।