काठमाण्डौ । संविधान संशोधन विधेयक थाती राखेर निर्वाचन घोषणा गर्ने सोचाइमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता गठबन्धनको प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवाले अप्ठ्यारो पारिदिएका छन् । बालुवाटारमा मंगलबार भएको छलफलमा देउवा संशोधन विधेयकलाई मतदान प्रक्रियामा लैजानुपर्ने अडानमा रहेपछि दाहाल अप्ठ्यारोमा परेका हुन् ।

दाहाल विधेयकलाई थाती राखेर एमाले अध्यक्ष केपी शर्मा ओलीकै प्रस्तावअनुसार निर्वाचनसम्बन्धी विधेयक संसद्मा ल्याएर निर्वाचन मिति घोषणा गर्ने पक्षमा उभिएका बेला गठबन्धनकै नेता देउवाबाट फरक मत आएपछि नयाँ संकट जन्मिएको हो ।

ओलीले दाहाललाई संशोधन विधेयक थाती राखेर निर्वाचनसम्बन्धी विधेयक सदनमा ल्याए आफूहरूले पूर्ण सहयोग गर्ने आश्वासन दिँदै आएका छन् ।

‘संशोधन विधेयकलाई संसद्मा मतदान प्रक्रियामा लैजाँदा एमालेलाई के आपत्ति हुन्छ ? ओलीजीले पहिले पनि सहमति जनाएकै विषय त छन्, संशोधन विधेयकमा । त्यसपछि निर्वाचनमा जाऊँ’, देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो । बैठकमा ओलीले संशोधन विधेयक फिर्ता लिएर मुलुकलाई निर्वाचनमा लैजानुपर्नेमा जोड दिएका थिए ।

दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बैठकमा देउवा संशोधन विधेयकलाई मतदानमा लैजानुपर्ने अडानमा प्रस्तुत भएका थिए भने दाहालले देउवा र ओलीबीच समन्वयकारी भूमिका निर्वाह गर्ने प्रयास गरेका थिए ।

प्रधानमन्त्री दाहाल संशोधन विधेयकलाई संसद्मा मतदान प्रक्रियामा पारित नभएको अवस्थामा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बाध्यतामा पुग्नेछन् भने देउवाका लागि प्रधानमन्त्री बन्ने मार्गप्रशस्त हुनेछ ।

वैशाखपछि दाहालले राजीनामा दिने र देउवा प्रधानमन्त्री हुने कांग्रेस र माओवादी केन्द्रको समझदारीलाई कांग्रेस नेताले सम्झाउन थालेका छन् ।
संशोधन विधेयक पारित नभए दाहालले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने त्यस अवस्थामा आफूलाई प्रधानमन्त्रीका लागि समर्थन गर्न देउवाले ओलीलाई आग्रह गरिसकेको स्रोतले बतायो ।

देउवाले आफू मधेसी दललाई मिलाएर मुलुकलाई निर्वाचनमा लैजान तयार रहेको जनाउ ओलीलाई दिएका छन् । देउवाले आइतबार ओलीसँग सिंहदरबारमा भेट्दा संशोधन विधेयक अगाडि बढाउन सदनको अवरोध हटाउन आग्रह गरेका आजको अन्नपूर्ण पोस्टमा खबर छ ।