काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही अगाडि बढाउने सूइँको पाएर थमौतिका लागि दिल्ली पुगी तत्कालीन केपी ओली सरकार गिराउने भारतीय ग्राण्ड डिजाइनमा माओवादी अध्यक्ष प्रचण्डको प्रतिनिधिको रुपमा कृष्णबहादुर महरा सामेल थिए । तत्कालीन अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी नेता महरा र भारतीय अधिकारीहरुले ओली सरकार ढाल्ने मुद्धामा माओवादीले सहमति जनाउनुपर्ने र त्यसबापत अख्तियारबाट हुन लागेको छानबिन प्रक्रिया रोक्ने आश्वासन दिएपछि नेपाली राजनीतिमा नाटकीय परिवर्तन भएको थियो । 

माओवादीको तत्कालीन सत्ता गठबन्धनलाई टुटाएर कांग्रेससँग मिल्ने नाटकीय भूमिकाको प्रमुख निर्माता नै भारत रहेको सोही बेला लगभग पुष्टि भइसकेको बिषय हो । भारतले भनेको एजेण्डा अनुसार नै ओली सरकार ढाल्ने बिषयमा सहमत भएकै कारण प्रचण्डले बदलामा प्रधानमन्त्री पद मात्र पाएनन्, भारत भ्रमणमा जाँदा विश्वास पात्रको रुपमा राम्रो सम्मान पनि पाए । 

सायद माओवादीका शीर्ष नेताहरुमा देखिएको यही भारतभक्तिका कारण हुनुपर्छ, स्वाभिमानी नेपालीहरुको चर्काे आलोचनाका बीच प्रचण्ड नेतृत्वको सरकारले भारतीय राष्ट्रपति नेपाल आउँदा सार्वजनिक विदा दिने अनौठो निर्णय गरेको छ । 

सामाजिक सञ्जालहरुमा यो निर्णयलाई ‘प्रचण्डको भारत भक्तिको हदैसम्मको लाजमर्दो रुप’को संज्ञा दिंदै कडा आलोचनाहरु भइरहेका छन् । 

मन्त्रीपरिषदको बिहीबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डकै प्रस्तावमा भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा सार्वजनिक विदा दिने निर्णय गरिएको क्याबिनेट एक सदस्यले बिजशालालाई बताए । ‘सोझै भारतीय राष्ट्रपतिको भ्रमणमा सार्वजनिक विदा दिनुपर्छ भन्दा भारतभक्तिको रुप देखिने भएकोले प्रधानमन्त्रीजीले घुमाउरो रुपमा क्याबिनेटमा यो प्रस्ताव राख्नुभयो ।’ एक मन्त्रीले बिजशालासँग भने–‘उहाँले भारत र चीनका राष्टपति नेपाल आउँदा सार्वजनिक विदा दिनुपर्छ भनेर निकै बठ्याईपूर्वक प्रस्ताव राख्नुभयो ।’

भारतका राष्ट्रपति प्रणव मुखर्जीले आगामी कात्तिक १७ देखि १९ गतेसम्म नेपालको राजकीय भ्रमण गर्दैछन् । तर चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्ने  कुनै टुंगो लागिसकेको छैन ।  भारतीय राष्ट्रपतिलाई भ्रमणका लागि तयार गर्ने कामलाई प्रचण्ड सरकारले निकै ठूलो सफलताको रुपमा हेरेको र बढी नै हौसिएर सार्वजनिक विदा दिनेसम्मको लाजमर्दो निर्णय भएको विश्लेषक बताउँछन । 

सार्वजनिक विदा दिने निर्णयसँगै भारतभक्तको चरम रुपको पर्दा उघ्रिएपछि सरकारका अधिकारीहरुले हतार हतार क्याबिनेट निर्णयको बचाउ गरेका छन् । 

नेपाल भारतबीच झण्डै १७ वर्षपछि राजकीय भ्रमण हुन लागेकोले सो भ्रमणलाई नेपालले उच्च महत्व दिएको देखाउन, भारतका राष्ट्रपतिको भ्रमणको क्रममा ट्राफिक व्यवस्थापन अस्तव्यस्त नदेखियोस् र जनताले दुःख नपाउन् भन्ने उद्देश्य राखी सार्वजनिक विदाको निर्णय गरिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले दाबी गरेका छन् । तर, काठमाण्डौमा भारतका राष्ट्रपति आउँदा देशभर किन सार्वजनिक विदा दिइएको हो भन्ने बिषयमा चाहि उनको प्रष्टोक्तिले बोलेको छैन ।