काठमाण्डौ । ग्राण्ड बैंकका सेयरधनीले पनि आगामी पुस ८ गते हुन लागेको प्रभू बैंकको १८ औं वार्षिक साधारणसभामा सहभागिता जनाउन र मत व्यक्त गर्न समेत पाउने भएका छन् । 

ग्राण्ड बैंकको सेयर प्रभूमा रुपान्तरण नहुँदा समस्या भई लामो समयदेखि ग्राण्ड बैंक गाभिएपछि बनेको प्रभू बैंकको सेयर कारोबार रोक्कामा परेर लगानीकर्तामा अन्यौल रहिरहेको अवस्थामा यस्तो खबर बाहिर आएको हो । 

प्रभू बैंकका एक अधिकारीले ग्राण्ड बैंकका सेयरधनी पनि प्रभू बैंककै सेयरधनीको रुपमा वार्षिक साधारणसभामा उपस्थित हुन र मत जाहेर गर्न पाउने स्पष्ट पारेका हुन् । 

सिडिएस एण्ड क्लियिरङ लिमीटेडले अझैसम्म पनि ग्राण्ड बैंकको सेयर प्रभूमा रुपान्तरणको बिषयमा स्पष्ट जानकारी दिएको छैन । तर प्रभूको आगामी साधारणसभाको मुख्य एजेण्डा मानिएको ४० प्रतिशत हकप्रदका लागि ग्राण्ड बैंकका सेयरधनी पनि योग्य हुने गरी व्यवस्था मिलाइएको ती अधिकारीले जानकारी दिए ।

आगामी वार्षिक साधारणसभामा ४० प्रतिशत हकप्रदको मुख्य एजेण्डा समेत प्रस्तुत हुँदैछ । यो हकप्रदपछि प्रभू बैंकको चुक्तापूँजी ८ अर्ब २३ करोड पुुग्नेछ । हाल यो बैंकको चुक्तापूँजी ५ अर्ब ८८ करोड रुपैयाँ मात्र छ । 

गएको असोज १८ गतेसम्म प्रभू र ग्राण्ड बैंकको सेयरधनी हुनेहरु मात्र ४० प्रतिशत हकप्रदका लागि योग्य हुनेछन् । प्रभू बैंकको सेयर नभए पनि ग्राण्ड बैंकका सेयरधनीले समेत साधारणसभामा उपस्थिति जनाउनेछन्, तर उनीहरुको सेयर हैसियत भने १०० : ६५.५८ को अनुुपातमा कायम हुनेछ । यही अनुपातका आधारमा उनीहरुले ४० प्रतिशत हकप्रदका लागि समेत आवेदन दिन पाउनेछन् । 

प्रभू बैंकको सेयर कारोबार सन् २०१५ सेप्टेम्बर ३० देखि रोक्का थियो । यो बीचमा गत असोज १७ र १८ गते कारोबार फुकुवा भए पनि ग्राण्ड बैंकको सेयर प्रभूमा रुपान्तरण भइनसकेको कारण देखाउँदै धितोपत्र बोर्डले नै हस्तक्षेप गरी पुनः रोकेको थियो । बोर्डले ग्राण्ड बैंकको सेयरधनीको सेयर स्वामित्व पनि कानूनी रुपमै प्रभूको सेयरधनीको रुपमा रुपान्तरण भएपछि मात्र रोक्का भएको सेयर कारोबार फुकुवा हुने बताउँदै आएको छ । 

सेयरधनीहरुले भने नियमनकारी निकायहरुको अनेक उल्झनका कारण लामो समयसम्म कारोबार रोकिएकोमा आक्रोश व्यक्त गरेका छन् । सम्बद्ध सबै पक्ष लगानीकर्ताको हितको बिषयमा गम्भीर बन्नुपर्नेमा उनीहरुको जोड छ ।