काठमाण्डौ । पछिल्लो समय बजारमा एफपीओको लहर नै चलेको छ । एसबीआई बैंकको एफपीओ हटकेक बनिरहँदा नेपाल लाइफ इन्स्योरेन्सले बिहीबार मात्र एफपीओ जारी गर्ने अनुमति पायो । यही लहरमा प्रिमियर इन्स्योेरेन्सले समेत ६ लाख ५९ हजार कित्ता एफपीओ निश्कासनको निर्णय गरेको छ । 

यो बिमा कम्पनीको बिहीबार सम्पन्न २३ औं वार्षिक साधारणसभाले कम्पनीको सेयर स्वामित्व संरचना मिलान गर्न ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपीओ निश्कासनको निर्णय गरेको हो।

एफपीओको मूल्य भने पछि तोकिनेछ । कुनै पनि कम्पनीको एफपीओ मूल्य निर्धारण कम्पनीको विगत, वर्तमान र भविष्यको बजार मूल्यको समग्र अध्ययन र विश्लेषणबाट मात्र गर्ने चलन छ । कुनै पनि कम्पनीले एफपीओ जारी गर्नुअघि पूँजीगत आम्दानी, प्रति सेयर नेटवर्थ, १८० दिनको औसत बजार मूूल्य र वर्तमानको सेयर मूल्यका आधारमा भविष्य नगद प्रवाह हुनसक्ने संभावना लगायतका आधारहरुलाई टेकेर मूल्य तोक्नुपर्ने नियम छ । 

यो बिमा कम्पनीले संस्थापक र साधारण सेयरको संरचना ५१ : ४९ को अनुपातमा रुपान्तरण गर्न एफपीओ जारीको निर्णय गरिएको स्पष्ट पारेको छ । एफपीओको निश्कासन तथा व्यवस्थापनमा एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । 

यसैबीच, साधारणसभाले यसअघि संचालक समितिले गरेको निर्णय अनुसार सेयरधनीलाई २० प्रतिशत लाभांश वितरणको प्रस्ताव पनि पारित गरेको छ । यो कम्पनीले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो । 

हाल यो बिमा कम्पनीको चुक्तापूँजी ३७ करोड ३७ लाख रहेको छ । बोनस वितरणपछि ४४ करोड ८५ लाख पुुग्ने बताइएको छ ।