काठमाण्डौ । माघ ९ गतेदेखि फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स बित्तीय संस्थाले खुलाएको ६ करोड मूल्यको ६ लाख कित्ता आइपीओमा लाइन बसेर आवेदन दिनेहरुबाट मात्रै ३ दिनको अवधिमा २ अर्ब बढीको आवेदन परेको छ । 

दोश्रो दिनसम्म १० हजार आवेदकबाट १ अर्बको प्रस्ताव परेकोमा तेश्रो दिन मात्र थप १ अर्बको आवेदन परेको बिक्री प्रबन्धकको काम गरिरहेको नबील इन्भेष्टमेन्ट बैकिंगका एक अधिकारीले जनाएका छन् । 

फरवार्डको आइपीओमा आवेदन दिने अन्तिम दिन आज(माघ १२ गते) हो । ११ र १२ गतेको तथ्यांक तथा आस्वामा परेको आवेदन समेत जोड्दा फरवार्डको आइपीओमा निकै धेरै आवेदन पर्नसक्ने देखिएको छ । आस्वा प्रणालीमार्फत आएको आवेदनसहितको अन्तिम तथ्यांक भने माघ १२ गतेपछि आउने बताइएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजारसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको थियो । 

कम्पनीले ३० हजार कित्ता सेयर आफ्ना कर्मचारीका लागि, ३० हजार कित्ता अस्तित्वमा रहेका १० वटा म्युुचुुअल फण्डका लागि र बाँकी ५ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । 

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोर प्लसको रेटिंग प्रदान गरेको छ । 

यो माइक्रो फाइनान्सको चुक्तापूँजी १४ करोड रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापूँजी २० करोड रुपैयाँ पुुग्नेछ । आइपीओपछि संस्थापक र साधारण सेयरको संरचना अनुपात ७०स् ३० मा रुपान्तरण हुनेछ । यो कम्पनीको जारी पूँजी २० करोड र अधिकृत पूँजी ४० करोड रुपैयाँ रहेको छ । 

यो माइक्रो फाइनान्स कम्पनीले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड १५ लाख खूद नाफा आर्जन गरेको थियो । जगेडा कोषमा ४१ करोड ८८ लाख रुपैयाँ रहेको छ ।