काठमाण्डौ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १३.९९ अंकले वृद्धि भए पनि कारोबार रकममा भने खासै बढोत्तरी भएन । हराभरा बजारमा वाणिज्य बैंक र बिमा समूहले धेरै कारोबार गरे पनि कमाउनेमा विकास बैंक र माइक्रो फाइनान्स अगाडि देखिए । 

नेप्से परिसूचक १५३०.०७ अंकमा पुुग्यो भने ४९ करोड ३९ लाखको सेयर कारोबार भयो । बुधबार ४८ करोड ६१ लाख बराबरको सेयर किनबेच भएको थियो । 

बिहीबार उत्पादनमूलक बाहेक सबै समूहको सूचकमा उमंग छायो । सबैभन्दा बढी होटल समूह उक्लियो । यो समूह ३३.८८(१.८२) प्रतिशतले बढ्यो । 

यस्तै, बिमा समूहमा ९२.२३, विकास बैंकमा २०.०८, वाणिज्य बैंक समूहमा १३.५३, जलविद्युतमा ८.७९ र बित्त समूहमा ६.५४ अंकको बढोत्तरी भयो । उत्पादनमूलक चाहि ६.५१ अंकले घट्यो । 

धेरै कारोबार गर्ने कम्पनी
साताको अन्तिम कारोबार दिन वाणिज्य बैंकहरुले २५ करोड ३८ लाखको कारोबार गरे । बिमा समूहले ११ करोड र विकास बैंकहरुले ५ करोड बढीको मात्र कारोबार गरे । 

कम्पनीहरुमा सबैभन्दा बढी एभरेष्ट बैंकले ८ करोड ३० लाखको कारोबार गर्यो । माछापुच्छे बैंकले २ करोड २५ लाख, सिद्धार्थ बैंकले २ करोड, बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडले १ करोड ७८ लाख, चिलिमे हाइडोले १ करोड ६८ लाख बराबरको कारोबार गरे । बिहीबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंकले, २ स्थान बिमा, एक स्थान जलविद्युत र एक स्थान उत्पादनमूूलकले कब्जा गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
हराभरा बजारमा तीनवटा कम्पनीले पैसा छापे । समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंक तथा सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ता मालामाल भए । यी तीनवटै कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो। 

यस्तै डिप्रोक्स डेभलपमेन्ट बैंक र हिमालयन डिस्टीलरीको सेयर मूल्यमा क्रमशः ८.१२ र ८.०७ प्रतिशतको वृद्धि भयो । 

अपी पावर र यूनाइटेड फाइनान्सका लगानीकर्ताहरु गुमाउनेमा अग्रस्थानमा देखिए । यी दुुवै कम्पनीको सेयर मूूल्य क्रमशः ३.५० र ३.०५ प्रतिशतले घट्यो ।