काठमाण्डौ । मंगलबार एकैदिन ८ सय रुपियाँले घटेको सुनको भाउ बुधबार भने ४ सय रुपियाँले बढेको छ । सुनको भाउसँगै चाँदीको भाउमा समेत सामान्य बढोत्तरी भएको छ । 
 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रति तोला ५४ हजार ६ सय रुपैयाँमा किनबेच भएको सुन बुधबार भनेर प्रतितोलामा ४ सय रुपैयाँले बढोत्तरी भई तोलाको ५५ हजार रुपैयाँ पुगेको हो ।
 

अघिल्लो साता सुनको भाउ निरन्तर उकालो लागी प्रति तोला ५५ हजार ५ सयसम्म कायम भएको थियो । यो साताको पहिलो दिन आइतबार स्थिर रहे पनि सोमबार चाहि सुनको मूल्य प्रति तोलामा १ सय रुपियाँ घटेर ५५ हजार ४ सय रहेको थियो ।
 

सुनसँगै मंगलबार स्थानीय बजारमा घटेको चाँदीको मूल्यमा समेत बढोत्तरी भएको छ । बुधबार चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ७ सय ३० मा झरेको थियो । त्यसअघि चाँदी तोलाको ७ सय ४५ रुपैयाँसम्म पुगेको थियो ।