काठमाण्डौ । कांग्रेस नेता खुमबहादुर खड्का पार्टीभित्र पुनः शक्तिमा उदाउने रणनीतिमा लागेका छन् । गत फागुनमा सम्पन्न १३औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा जिताउन प्रमुख भूमिका खेलेका खड्का यतिखेर पार्टीका हरेक तहमा बार्गेनिङ गर्दै आफ्नो ‘स्ट्रेन्थ’ बढाउँदै लगेका छन् । नेता खड्का अहिले हिन्दूराज्यको महाअभियानमा लागेका छन् । त्यसैलाई आधार बनाएर उनले पार्टीका विभिन्न संरचनामा आफ्नो भाग खोज्न थालेका छन् । 

भ्रष्टाचार आरोपमा जेल बसेर खुला राजनीतिमा सक्रिय खड्का आफूनिकटका नेतालाई स्थापित गर्दै राजनीतिमा सक्रिय हुने तयारीमा लागेका हुन् । आफूलाई ठूला पद दिन सभापतिलाई अप्ठ्यारो भए आफूले भनेका नेतालाई पद दिनुपर्ने भन्दै उनले आफ्नो भूमिका र प्रभाव खोजेका हुन् । राजनीतिमा पुनः उदयका लागि कुनै समयका कांग्रेसका खम्बा मानिने नेता खड्काले पार्टीमा भूमिकाका साथै हिन्दूराज्य नेपालको विषयलाई उठाउँदै छन् ।

दोस्रो बढी भोट ल्याएपछि उत्साहित खड्का पक्ष

पार्टीको १३औँ महाधिवेशनमा खुला २५ केन्द्रीय सदस्य निर्वाचित हुँदा खड्काले दोस्रो बढी मत ल्याएका थिए । कैयौँ वरिष्ठलाई पछि पार्दै आफ्नो पक्षका नेता खड्का अगाडि आएपछि उनले उठाउँदै आएको हिन्दूराज्यको मुद्दामा पार्टीभित्रै सकारात्मक माहोल बनाएको बुझाइ खड्का पक्षधरको छ । त्यसैले पुनः शक्ति आर्जन गर्ने अभियानमा खड्का पक्ष लागेको छ ।

देउवालाई नछोड्ने

सभापति देउवाले आफ्नो पक्षलाई सहयोगी मान्दै आएपछि खड्का पनि उनलाई चिढिन नदिने रणनीतिमा लागेका छन् । सकेसम्म देउवालाई फकाएरै बलियो बन्ने दाउमा उनी लागेका छन् । महिला संघ, तरुण दलको महाधिवेशनपछि बनाइएका राज्यमन्त्रीमा समेत खड्का पक्षले आफ्नो हिस्सा पाएको छ । यसअघि क्याबिनेटमा खड्का पक्षबाटै शंकर भण्डारी वनमन्त्री भएका थिए । खड्कानिकट इन्द्रबहादुर बानियाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका छन् ।

‘पार्टी समझदारी र सहमतिबाट अघि बढ्नुपर्छ भन्नेमा हामी छौँ, फरक समूह हुँदाहुँदै पनि देउवालाई सहयोग गर्दै आयौँ,’ खड्कापक्षीय नेता देवेन्द्रराज कँडेल भन्छन्, ‘दुवै पक्षमा शेरबहादुर र खुमबहादुर नमिलून् भन्नेहरू छन्, तर हामी साना असन्तुष्टिले गर्दा दुवैलाई अलग हुन दिँदैनौँ ।’ खड्का पक्षले देउवासँग वार्ता गर्न शंकर भण्डारी, देवेन्द्रराज कँडेल, पुष्पा भुसालसहितका नेताले वार्ता र संवाद गरी कुरा मिलाउँदै आएका आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

देउवालाई खड्का बाध्यता

६४ पदमा देउवाले ३६ पद जित्दा रामचन्द्र पौडेल पक्षले २८ सदस्य जितेको थियो । यस्तोमा निर्णायक खुमबहादुर देखिएका छन् । पदाधिकारी मनोनीत हुँदा असन्तुष्ट भएर खड्का पक्ष पौडेल पक्षमा उभिए देउवालाई उपसभापति र महामन्त्री मनोनयन गर्नै हम्मेहम्मे पर्छ । त्यसैले खड्कालाई साथ नै लिनुपर्ने बाध्यता देउवालाई छ ।