काठमाण्डौ । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन्। 

मलेसियाबाट कालिन्डो एयरमा शुक्रबार राति काठमाडौं आएका बंगलादेशका अरुण मोलाको साथमा एक किलो दुई सय ग्राम सुन बरामद भएको हो। उनले आफूसँग साढे दुई किलो सुन भएको बताए पनि भन्सार कार्यालयका कर्मचारीले खानतलासी गर्दा एक किलो दुई सय ग्राम मात्र फेला परेको छ। जाँचक्रममा एक किलो दुई सय ग्राम मात्र भेटिएकाले थप अनुसन्धान भईरहेको भन्सार कार्यालयका एक कर्मचारीले बताएका छन्। 

पक्राउ परेका बंगलादेशीले प्रारम्भिक सोधपुछमै स्पष्ट कुरा नभनेपछि राति अबेरसम्म केरकार चलिरहेको थियो। काठमाडौं विमानस्थलमा उत्रिएपछि अध्यागमनले उनलाई नेपालको आगमन प्रवेशाज्ञा (अनअराइभल भिसा) दिएको थियो। भिसा लिएलगत्तै मोलाले आफू ट्रान्जिटका रूपमा विमानस्थलमै बस्ने र शनिबार अपराह्न बंगलादेश जाने भन्दै शंकास्पद कुरा गरेपछि अध्यागमनले भन्सार कार्यालयको जिम्मा लगाएको स्रोतले बताएको छ। 

उनी बीएम ०७७९२३७ नम्बरको राहदानीमा नेपाल आएका हुन्। उनीसँग आइतबार बंगलादेश फर्कने विमान बंगलादेशको टिकटसमेत छ। भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगनाले ती बंगलादेशीले नेपालको भिसा लिइसकेकाले उनले ल्याएको सुन जफत हुने बताए। ढुंगानाले अन्नपूर्णसँग भने, ‘नेपालमा ट्रान्जिट सुविधा छैन। कसरी उनले ट्रान्जिट टिकट लिए भन्ने अनुसन्धान भइरहेको छ।' प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुस २१ गते विमानस्थलको सुरक्षा र भन्सार पार गराएपछि पिंगलास्थान र गोठाटारबाट ३३ किलो सुनसहित तीनजनालाई पक्राउ गरेको थियो। 

विमानस्थलको ३३ किलो सुनकाण्डमा संलग्न भएको आशंकामा प्रहरी मुख्यालयले विमानस्थलका एसएसपी श्याम खत्रीलाई फिर्ता बोलाएको छ। विमानस्थल सुरक्षा प्रमुखमा गोविन्द निरौला छन्। विमानस्थलबाट सुन बाहिरिएपछि भन्सार कार्यालयले त्यस दिन ड्युटीमा रहेका दुई दर्जनभन्दा बढी कर्मचारीलाई काम गर्न बन्देज लगाइसकेको छ। यो खबर आजको अन्नपूर्णपोष्टमा छापिएको छ।