काठमाण्डौ । सुनियोजित रुपमा चलाइएको बजार हल्लाका कारण करिब एकसातासम्म हराएको पूँजीबजारको चमक बैंक र बिमा समूहले फर्काउन सुरु गरेका छन् । 

सोमबारबाट यी दुई समूहको सूचकमा सुधार भएसँगै अधोगतितर्फ लागेको समग्र नेप्से परिसूचकमा समेत सुधार हुने क्रम जारी रहेको छ । सोमबार ३३ अंकले बढेको बजार मंगलबार पनि १४.६९ अंकले उकालो लागी नेप्से परिसूचक १५३१.४९ अंकमा पुगेको छ । 

मंगलबार पूँजीबजारमा होटल र जलविद्युत समूहको सूचक दोहोरो अंकले घटे पनि बाँकी सबै समूहको सूचकमा हरियो पोतियो । 

सबैभन्दा बढी विमा समूहकै सूचक ८८.९३ अंकले उक्लियो । बजारलाई माथि उठाउन वाणिज्य बैंक समूहको योगदान महत्वपूर्ण रह्यो । यो समूहको सूचक १६.९७ अंकले उक्लिएको छ । विकास बैंक समूह १०.८७ अंकले उकालो लागेको छ भने अन्य समूह ५.८८ तथा बित्त समूह ४.९२ अंकले उक्लिएका छन् । उत्पादनमूलक समूहको सूचक भने स्थिर रह्यो । 
मंगलबार सेन्सेटिभ र फ्लोट इण्डेक्स क्रमशः ३.३४ र १.२९ अंकले उकालो लाग्यो । 

कुल १ सय ३३ कम्पनीको १६ लाख ६० हजार ९ सय ६७ कित्ता सेयर १ अर्ब १४ करोड ५५ लाख ७५ रुपैयाँमा किनबेच भयो । विगत दुई सातादेखि हरेक दिन कारोबार रकम अर्ब माथि भइरहेको छ । 

ठूलो मात्रामा हकप्रद र बोनस सेयर वितरण गर्न लागेका वाणिज्य बैंकहरुमा लगानीकर्ता झुम्मिए । मंगलबार सबैभन्दा बढी नेपाल बंगलादेश बैंकको सेयर कारोबार भयो । यो बैंकको मात्रै २८ करोड ९२ लाख ३६ हजार बराबरको सेयर किनबेच भयो । सानिमा बैंकले पनि १० करोड ७३ लाख बराबरको कारोबार गर्यो । प्राइम कमर्सियल बैंक लिमीटेडको ४ करोड ८२ लाख, हिमालयन जनरल इन्स्योरेन्सले ३ करोड ८९ लाख र सिटिजन्स बैंक इन्टरनेशनलले ३ करोड ७८ लाखको कारोबार गरे । मंगलबार उत्कृष्ट कारोबार गर्न सफल १० कम्पनीमा ५÷५ को दरले वाणिज्य बैंक र बिमा कम्पनीले स्थान बाँडे ।