काठमाण्डौ । सेयर लगानीकर्ताहरुको आन्दोलनको सुरुवातकै दिन बजार नाटकीय रुपमा हराभरा भएको छ । सयौ लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्ज प्रांगणमा धर्ना, कोणसभा गरी सम्बद्ध अधिकारीलाई ६ बुँदे मागसहित ज्ञापनपत्र बुुझाएको दिन नै बजारमा हरियाली छाएको हो। 

''बजारको गैरकानूनी चलखेल, सिण्डिकेट र कार्टेलिंग रोक्न लगानीकर्ता आन्दोलनमा उत्रिएपछि उनीहरुको आक्रोशलाई मत्थर पार्न ललीपपको रुपमा बुधबारको बजार बढाउने नाटक रचिएको हो ।''

-सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल

सेयर लगानीकर्ताहरुको आन्दोलनको दवाबमा बजारलाई हराभरा बनाइएको आशंका गरिएको छ । सेयर लगानीकर्तामा घट्दो बजारका कारण उर्लिएको आक्रोशलाई मत्थर पार्न बजारलाई बुधबार नाटकीय ढंगले हराभरा बनाइएको कतिपयको आशंका छ । ''हिजोसम्म पहिरै पहिरो सामना गरेको बजार आन्दोलनको माहौल हेरेर एकाएक बाउन्स ब्याक हुनुु निकै रहस्यमय छ ।'' एक विश्लेषकले भने-''बजार बढ्नुु राम्रो हो । तर आन्दोलनकै कारण नियोजित रुपमा बजार बढाइएको देखिन्छ ।'' यसले लगानीकर्ताले भन्दै आएका बजारलाई निश्चित व्यक्ति वा समूहले आफू अनुकुल बढाउने र घटाउने गरिरहेका छन् भन्ने आरोप सही साबित गरिदिएको उनीहरुको भनाई छ । 

सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले पनि बुधबारको बजारलाई नाटकीय ढंगले बढाइएको बताए । ''बजारको गैरकानूनी चलखेल, सिण्डिकेट र कार्टेलिंग रोक्न लगानीकर्ता आन्दोलनमा उत्रिएपछि उनीहरुको आक्रोशलाई मत्थर पार्न ललीपपको रुपमा बुधबारको बजार बढाउने नाटक रचिएको हो ।'' उनले भने-''यो घटनाले बजार कसैको नियन्त्रण छ र उसले जे चाहन्छ त्यो हुन्छ भन्ने देखाएको छ ।'' उनले नियामक निकायहरुकै योजना अनुसार बजारलाई सुनियोजित रुपमा बढाइएको भन्दै यस्ता ललीपपबाट लगानीकर्ताको आन्दोलनलाई कुनै प्रभाव नपर्ने पनि प्रष्ट्याए । ''हाम्रा माग अक्षरंश पूरा नभएसम्म आजदेखि सुरु भएको आन्दोलन जारी रहन्छ ।'' उनले बिजशालासँग भने-''हामीले बजार बढाइदेऊ भनेर रोइकराई गरेका होइनौ, बजारको बिस्तार तथा विकासका लागि नीतिगत निर्णय नै हुनुपर्छ, त्यसका लागि पहल गरिनुपर्छ ।'' 

उनका अनुसार सोमबार र मंगलबारको तुलनामा बजार हरियो हुने गरी कुनै ठूला परिवर्तन वा सकारात्मक प्रयास केही नभए पनि बजार एकाएक हराभरा हुनु निकै रहस्यमय र शंकास्पद रहेको छ । 

हराभरा बजारलाई टर्नओभरले छाड्यो साथ
बजार परिसूचक बुधबार ५.६२ अंकले बढे पनि टर्नओभरले पनि साथ छाडेको छ । मंगलबार बजार घट्दा समेत ६० करोडको हाराहारीमा सेयर किनबेच भएकोमा बुधबार नेप्से बढ्दा समेत कारोबार रकम चाहि ४६ करोडमा खुम्चियो । अरु त अरु नेप्से परिसूचक मात्र होइन, सबै समूहको परिसूचक बढेको देखाइएको छ । स्रोतहरुले यी सबै सूचकमा नाटकीय बढोत्तरी गरिएको दाबी गरेका छन् । 

सबै समूहको सूचकमा झिनो बढोत्तरी भएको छ । वाणिज्य बैंक समूह २.६८ अंक, बिमा २९.७१, विकास बैंक १२.२५, बित्त समूह ३.५६ अंकले उक्लिएका छन् । यस्तै, होटल, जलविद्युत र अन्य समूहमा क्रमशः ३९.४५, ३०.७१ र ०.५८ अंकको बढोत्तरी भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
बुुधबार वाणिज्य बैंकहरुले १९ करोड बढीको कारोबार गरेका छन् । बिमा समूहले १३ करोड बढीको कारोबार गरेको छ भने विकास बैंकहरुको ७ करोड २० लाख बढीको सेयर किनबेच भएको छ । 

कम्पनीगत हिसाबले नेको इन्स्योरेन्सले सबैभन्दा बढी ३ करोड ९६ लाख बराबरको कारोबार गरेको छ । एभरेष्ट बैंकले २ करोड ३० लाख, सिद्धार्थ बैंकले १ करोड ९७ लाख, एनबी बैंकले १ करोड ९६ लाख, बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडले १ करोड ७८ लाखको कारोबार गरेका छन् । बुधबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थानमा वाणिज्य बैंक, ३ स्थानमा बिमा कम्पनी र २ स्थानका विकास बैंकले कब्जा जमाए । 

धेरै कमाउने र गुमाउने कम्पनी
बुधबार पनि सबैभन्दा बढी एनबी इन्स्योरेन्सले नै कमाएको छ । यो कम्पनीको सेयर मूल्य ८.१३ प्रतिशतले बढ्यो । यस्तै, नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडको सेयर मूल्य ६ प्रतिशत भन्दा बढीले वृद्धि भयो । 

बुधबार सबैभन्दा बढी ललितपुर फाइनान्सका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्य ६.४८ प्रतिशतले घट्यो । युनियन फाइनान्सको सेयर मूल्यमा ५ प्रतिशतको हाराहारीले गिरावट आयो ।