काठमाण्डौ । दोश्रो बजारको जटिलतालाई केलाउन नसक्नेका लागि लगानीको एउटा सहज र सजिलो ठाउँ हो–म्युुचुुअल फण्ड । यस्ता फण्डहरुमा लगानी गर्दा डूूब्ने संभावना पनि कम हुन्छ भनिन्छ । तर, पछिल्लो समय घट्दो सेयर बजारले यस्ता फण्डहरुलाई समेत थिलथिलो बनाउन थालेको छ । दैनिकजसो घटिरहेको बजारमा विभिन्न सूचिकृत कम्पनीको सेयर मूल्य पनि घट्दा तिनै कम्पनीको सेयरमा लगानी गरेका यस्ता स्किमहरुले ठूलो घाटा व्यहोरिरहेका छन् । पछिल्ला केही महिनाको तथ्यांक हेर्ने हो भने देशमा संचालित म्यूचुुअल फण्डहरुको खूद सम्पत्ति मूल्य अर्थात नेट एसेट भ्यालू(एनएभी) घटिरहेको छ । कतिपयको एनएभी प्रति इकाई मूल्य १० रुपैयाँ कम छ भने राम्रा र पुराना फण्डहरु समेत सेयर बजारको पहिरोको प्रभावले क्षयीकरणमा परिरहेका छन् । म्युचुअल फण्डमा गरिएको लगानीबाट बैंकहरुले दिएको बचत स्कीमकोभन्दा बढी रिटर्न(नाफा) प्राप्त हुन्छ भन्ने सोचेर लगानी गर्नेहरु पनि अहिले तर्सिन थालेका छन् ।  

देशका सबै(१० वटै) म्युुचुुअल फण्डहरुले माघ मसान्तसम्मको आफ्नो बित्तीय विवरण सार्वजनिक गरेका छन् । तीमध्ये सबैजसोको एनएभी घटेको पाइएको छ । यसले लगानीकर्तामा अर्को त्रास पैदा गरिदिएको छ । सुरक्षित भनिएको म्युुचुुअल फण्ड समेत यसैगरी घट्दै जाने हो भने कतै आफ्नो लगानी त डूूब्ने होइन भन्ने त्रासमा उनीहरु छन् । हामीले माघ महिनाको रिपोर्टसँग पुसको तुलना गरी कुन स्किमको एनएभी कति घट्यो त्यो प्रस्तुत गर्ने कोशिश गरेका छौ ः

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १
सिद्धार्थ क्यापिटल लिमीटेडले प्रवद्र्धन गरेको म्युुचुुअल फण्ड सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १ को नेट एसेट भ्यालूू(एनएभी) घटेको छ । पुस मसान्तसम्म २४ रुपैयाँ ७७ पैसा रहेको एनएभी माघ महिनाको मसान्तसम्म घटेर २२ रुपैयाँ ६१ पैसामा झरेको हो । यो ५ वर्षे बन्दमुखी म्युुचुुअल फण्ड हो । कुल ५० करोड रुपैयाँबाट सुुरु भएको यो स्कीमले माघ मसान्तसम्म सार्वजनिक निश्कासन, हकप्रद, बोनस सेयर लगायतमा ९ करोड २२ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै, ८५ कम्पनीको सूचिकृत सेयरमा ६५ करोड ८५ लाख लगानी गरेको छ । ३१ करोड ८० लाख रुपैयाँ नगद ब्यालेन्स रहेको छ । 

सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीम
सिद्धार्थ क्यापिटलले नै प्रवद्र्धन गरेको अर्को म्युचुुअल फण्ड सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीमको माघ मसान्तसम्मको एनएभी पनि घटेको छ । पुस मसान्तसम्म १४ रुपैयाँ ३३ पैसा रहेको एनएभी घटेर १३ रुपैयाँ १७ पैसामा झरेको हो । यो स्कीम पनि ५ वर्षे बन्दमुखी म्युचुुअल फण्ड हो । एकसय करोडबाट सुरु भएको यो फण्डले माघ मसान्तसम्म ९४ सूचिकृत कम्पनीको सेयरमा ७१ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ । यो स्किमले सार्वजनिक निश्कासनहरुमा ८ करोड १६ लाख बढी लगानी गरेको छ भने ३६ करोड बढी बैंक ब्यालेन्स रहेको छ । 

एनएमबी हाइब्रीड फण्ड एल १
एनएमबी क्यापिटल लिमीटेडले संचालन गरेको ७ वर्षे बन्दमुखी म्युुचुुअल फण्ड एनएमबी हाइब्रीड फण्ड एल १ को खूद सम्पत्ति मूल्य भने बढेको छ । पुस मसान्तसम्म यसको एनएभी १० रुपैयाँ १६ पैसा रहेकोमा माघ मसान्तसम्म त्यसमा झिनो बढोत्तरी भई १० रुपैयाँ १९ पैसा पुुगेको हो । यो स्किमको एनएभी प्रति इकाई मूल्य भन्दा झिनो माथि पुुगेको छ । प्रति इकाई मूल्य १० रुपैयाँ भन्दा कम एनएभी हुनु म्युुचुुअल फण्डको क्षयीकरण मानिन्छ । यो स्किम २०७३ भदौबाट मात्र सुरु भएको हो । एक अर्बबाट सुरु भएको यो स्किमले माघ मसान्तसम्म ३ सूचिकृत कम्पनीको सेयरमा ३ करोड २० लाख लगानी गरेको छ । यस्तै, सार्वजनिक निश्कासनहरुमा ६० लाख बढीको लगानी छ भने ४६ करोड ९० लाख बैंक ब्यालेन्स रहेको छ । 

एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड
एनएमबी क्यापिटल लिमीटेडले नै प्रवद्र्धन गरेको अर्को ५ वर्षे बन्दमुखी म्युुचुुअल फण्ड एनएमबी सुुलभ इन्भेष्ट फण्डको एनएभी भने घटेको छ । पुस मसान्तसम्म खूद सम्पत्ति मूल्य(एनएभी) १५ रुपैयाँ ७१ पैसा रहेकोमा माघ मसान्तसम्म घटेर १४ रुपैयाँ ६३ पैसा कायम भएको हो । ७५ करोड रुपैयाँबाट सुरु भएको यो स्किमले माघ मसान्तसम्म ६७ सूचिकृत कम्पनीको सेयरमा ४३ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ । सार्वजनिक निश्कासनहरुमा ६ करोड ९० लाख बढीको लगानी छ भने यो स्कीमको बैंक ब्यालेन्स २८ करोड ९१ लाख रुपैयाँ रहेको छ । 

एनआइबिएल समृद्धि फण्ड १
एनआइबिएल क्यापिटल लिमीटेडले प्रवद्र्धन गरेको ७ बर्षे बन्दमुखुी म्युुचुुअल फण्ड एनआइबिएल समृद्धि फण्डको एनएभी पनि घटेको छ । पुस मसान्तसम्म यो स्किमको एनएभी १३ रुपैयाँ ६९ पैसा रहेकोमा घटेर माघ मसान्तसम्म १२ रुपैयाँ ९ पैसा कायम भएको हो । २०७१ कात्तिकबाट एकअर्बबाट सुरु भए पनि यो फण्डले सन्तोषजनक प्रगति गर्न सकेको छैन । माघ मसान्तसम्म ८८ सूचिकृत कम्पनीको सेयरमा यो स्किमको ८५ करोड १ लाख रुपैयाँ लगानी छ । यस्तै, सार्वजनिक निश्कासनहरुमा ८ करोड ७७ लाख रुपैयाँ लगानी छ । यो स्किमको ११ करोड ७४ लाख बैंक ब्यालेन्स रहेको छ । 

एनआइबिएल प्रगति फण्ड
एनआइबिएल क्यापिटल लिमीटेडले नै प्रवद्र्धन गरेको अर्को ७ वर्षे बन्दमुखी म्युुचुुअल फण्ड एनआइबिएल प्रगति फण्डको एनएभी समेत घटेको छ । २०७३ कात्तिकबाट सुरु भएको यो म्युुचुुअल फण्डको एनएभी पुस मसान्तसम्म ९ रुपैयाँ ९३ पैसा रहेकोमा घटेर माघ मसान्तसम्म ९ रुपैयाँ ७७ पैसा कायम भएको हो । प्रति इकाई मूल्य १० रुपैयाँ भन्दा एनएभी तल झर्नु राम्रो संकेत होइन । कुल ७५ करोड रुपैयाँबाट सुरु भएको यो स्किमले माघ मसान्तसम्म २९ सूचिकृत कम्पनीका सेयरमा ८ करोड ८६ लाख रुपैयाँ लगानी गरेको छ । सार्वजनिक निश्कासनहरुमा २ करोड १४ लाख लगानी गरेको छ भने ५७ करोड ७६ लाख बैंक ब्यालेन्स रहेको छ । यो स्किमको सेयर हालसम्म नेप्सेमा सूचिकृत भइसकेको छैन । 

नबील ब्यालेन्स फण्ड १
नबील इन्भेष्टमेन्ट बैकिंग लिमीटेडले प्रवद्र्धन गरेको ५ वर्षे बन्दमुखी म्युुचुुअल फण्ड नबील ब्यालेन्स फण्ड १ को एनएभी पनि घटेको छ । पुस मसान्तसम्म २२ रुपैयाँ ५८ पैसा रहेको एनएभी घटेर माघ मसान्तसम्म २० रुपैयाँ ५२ पैसा कायम भएको हो । कुल ७५ करोड रुपैयाँबाट करिब ४ वर्षअघि सुरु भएको यो स्कीमले माघ मसान्तसम्म ७२ सूचिकृत कम्पनीको सेयरमा ६२ करोड १५ लाख लगानी गरेको छ । सार्वजनिक निश्कासनहरुमा १४ करोड ६५ लाख बढी लगानी गरेको स्किमको बैंकमा ५३ करोड ८८ लाख रुपैयाँ ब्यालेन्स रहेको छ । 

नबील इक्वीटी फण्ड
नबील इन्भेष्टमेन्ट बैकिंग लिमीटेडले नै प्रवद्र्धन गरेको अर्को ७ वर्षे बन्दमुखी म्युुचुुअल फण्ड नवील क्वीटी फण्डको नेट एसेट भ्यालूु पनि घटेको छ । पुस मसान्तसम्म ९ रुपैयाँ ८१ पैसा रहेकोमा माघ मसान्तसम्म घटेर ९ रुपैयाँ ६३ पैसा कायम भएको हो । २०७३ भदौबाट १ अर्ब २५ करोडबाट सुरु भएको स्किमले माघ मसान्तसम्म २१ सूचिकृत कम्पनीको सेयरमा १२ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ । सार्वजनिक निश्कासनहरुमा २ करोड ६६ लाख बढीको लगानी छ भने ८८ करोड ९९ लाख बढी बैंक ब्यालेन्स रहेको छ । एनएभी प्रति इकाई मूल्य १० रुपैयाँ भन्दा कम हुनु राम्रो संकेत होइन । तर नयाँ स्किम भएको र यो आउने बित्तिकै सेयर बजार घटिरहेकोले यसको एनएभीमा नकारात्मक प्रभाव पर्नुलाई स्वभाविक नै मान्न सकिन्छ ।

ग्लोबल आइएमई समुन्नत स्कीम
ग्लोबल आइएमई क्यापिटल लिमीटेडले प्रवद्र्धन गरेको ५ वर्षे बन्दमुखी म्युुचुुअल फण्ड ग्लोबल आइएमई सम्मुन्नत स्कीम १ को खूद सम्पत्ति मूल्य(नेट एसेट भ्यालू) घटेको छ । पुस मसान्तसम्म ९ रुपैयाँ २१ पैसा रहेको खूद सम्पत्ति मूल्य माघ मसान्तसम्ममा घटेर ८ रुपैयाँ ४५ पैसामा सीमित बन्न पुुगेको हो । यो स्कीमको नेट एसेट भ्यालू(एनएभी) प्रति इकाई मूल्य १० रुपैयाँ भन्दा कम कायम हो, यो खराब संकेत हो । कुल एक अर्बबाट सुरु भएको यो स्कीमले माघ मसान्तसम्म ६९ वटा सूचिकृत कम्पनीको सेयरमा ३६ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै, ५ करोड ११ लाख रुपैयाँ सूचिकृत नभएका सेयरमा लगानी गरेको छ । यो स्कीमले १५ करोड रुपैयाँ मुद्धती खातामा बचत गरेको छ । कुल लगानीमध्ये यो स्किमले सबैभन्दा बढी नबील ब्यालेन्स फण्डको ७ लाख २१ हजार २ सय १० इकाई खरीद गरेको छ । सबैभन्दा धेरै लगानी चाहि नागरिक लगानी कोषमा ४ करोड ८९ लाख रुपैयाँ छ ।

लक्ष्मी भ्यालू फण्ड
लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले प्रवद्र्धन गरेको ५ वर्षे बन्दमुुखी म्युुचुुअल फण्ड ‘लक्ष्मी भ्यालूू फण्ड १’ को खूद सम्पत्ति मूल्य घटेको छ । पुस मसान्तसम्म यो स्कीमको खूद सम्पत्ति मूल्य(एनएभी) १२ रुपैयाँ ४ पैसा रहेकोमा माघ मसान्तसम्म घटेर ११ रुपैयाँ ३ पैसा कायम भएको हो । यो स्कीम ५० करोडबाट सुरु भएको थियो । माघ मसान्तसम्म यसले ४४ सूचिकृत कम्पनीको ३ लाख २३ हजार १ सय २७ कित्ता सेयरमा २७ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ ।  त्यस्तै, १ करोड १ लाख रुपैयाँ सार्वजनिक निश्कासनमा लगानी भएको छ । कुल लगानीमध्ये यो स्किमले सबैभन्दा धेरै चिलिमे हाइड्रोपावर कम्पनी लिमीटेडको ३३ हजार ७ सय ६३ कित्ता सेयर खरीद गरेको छ ।