काठमाण्डौ । बुधबार बजारको कालो बादल फाँटेको छ । निरन्तर ओरालो लागेको बजारमा सेयर खरीद गर्ने बढेपछि बजार एकाएक उकालो लागेको हो । नेप्से परिसूचकमा १७.५१ अंकको बढोत्तरी भए पनि कारोबार रकम चाहि घटेको छ । 

बजार हराभरा भएको दिन सबैभन्दा बढी बिमाका लगानीकर्ताको अनुहार उज्यालो देखिएको छ । अधिकांश बिमा कम्पनीको घट्दो मूल्यमा बुधबारको बढोत्तरीले मल्हमपट्टि लगाइदिएको छ । 

नेप्से परिसूचक बुधबार १३१६.८० अंकमा उक्लिएको छ भने ३२ करोड बढीको कारोबार भएको छ । 

बित्त समूहमा झिनो गिरावट भए पनि बाँकी सबै समूहको सूचक हराभरा भएका छन् । अरुबेला रुवाबासी मच्चिएको बिमाको परिसूचकले ओठतालूू सुुुकेका लगानीकर्तालाई उत्साहको सञ्चार गरायो । यो समूहको सूचक २१४.७१ अंकले बढ्यो । यस्तै, वाणिज्य बैंक १३.५२, होटल समूह २६.९८, विकास बैंक समूह १५.३१, जलविद्युत २.७९, उत्पादनमूलक ३०.०९ र अन्य समूह ४.६२ अंकले बढे । बित्त समूहमा ०.६५ अंकको गिरावट देखियो ।

'क' वर्गका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण एकाएक बढेका कारण सेन्सेटिभ इण्डेक्स ३.८६ अंकले बढ्यो भने फ्लोट इण्डेक्स १.३३ अंकले वृद्धि भयो । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार १ सय ३५ कम्पनीको ६ लाख ५० हजार कित्ता सेयर ३२ करोड ५ लाख बढीमा किनबेच भयो । यो दिन सबैभन्दा बढी कुमारी बैंक लिमीटेडले ३ करोड ९४ लाखको कारोबार गर्यो । एनबी बैंकले ३ करोड ४ लाख बढीको कारोबार गर्दा नेपाल लाइफको २ करोड २६ लाख, शिखर इन्स्योरेन्सको १ करोड २४ लाख, नबील बैंकको १ करोड १६ लाख बढीको सेयर किनबेच भयो । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान बिमा समूहले र बाँकी ५ स्थान वाणिज्य बैंकले ओगटे । 

धेरै कमाउने र गुमाउने कम्पनी
बुधबार सबैभन्दा बढी प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । यस्तै, आरएसडिसी लघुवित्त बित्तीय संस्था लिमीटेडले समेत पैसा छाप्यो । यो कम्पनीको सेयर मूल्यमा पनि १० प्रतिशतकै हाराहारीले वृद्धि भयो । सिनर्जी फाइनान्सको सेयर मूल्य ९ प्रतिशतको हाराहारीमा बढ्दा जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमीटेडले ८.०५ प्रतिशतले सम्पत्ति बढायो । 

त्यसपछि सगरमाथा इन्स्योरेन्स, हिमालय जनरल इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र नेको इन्स्योरेन्सको सेयर मूल्य क्रमशः ६.९०, ६.६३, ६.३०, ६.०८ र ६.०४ प्रतिशतले वृद्धि भयो । 

सिन्धुु विकास बैंकले भने धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो । ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य समेत ७ प्रतिशतको हाराहारीमा घट्यो ।