काठमाण्डौ । सेयर बजारमा एकाएक कारोबारको साथ कमजोर बन्दै गएको छ । बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावटसँगै कारोबार रकममा ठूलो पहिरो गएको छ । मंगलबार ६० करोड ३४ लाख बढीको सेयर किनबेच भएकोमा बुधबार त्यो घटेर ३४ करोड ५५ लाखमा झरेको हो । 

स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्यालका अनुसार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि यो खालको पहिरो जानुुलाई चिन्ताको रुपमा लिनुपर्छ । ‘यसले बजार जोखिममा छ भन्ने देखाउँछ ।’ पौड्यालले भने–‘नेप्से परिसूचक घटे पनि कारोबार रकमको साथ रह्यो भने अत्तालिनुुपर्दैन, तर बुधबार नेप्से परिसूचकको गिरावटको तुलनामा कारोबार रकमतर्फको घटाईले जोखिमको संकेत गर्छ ।’ 

बुधबार नेप्से परिसूचक १३.४६ अंकले घटेर १३४४.११ अंकमा झरेको छ भने सबै समूहको सूचकमा रातो पोतिएको छ । 

बिमा, वाणिज्य बैंक र होटल समूह धेरै अंकले घटेका छन् । बिमा ११२.६९, वाणिज्य बैंक १४.१९ र होटल समूह ४१.७ अंकले घटे । 

विकास बैंक, बित्त, जलविद्युत र अन्य समूह क्रमशः ०.३५, ३.५, ४.१५ र ६.९४ अंकले घटे । 

‘क’ वर्गका कम्पनीका लगानीकर्ताको आकर्षण घटेपछि सेन्सेटिभ इण्डेक्स ३.२ अंकले घट्यो भने फ्लोट इण्डेक्समा ०.९७ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार १ सय ३७ कम्पनीका ७ लाख ६४ हजार ६ सय ७९ कित्ता सेयर ३४ करोड ५५ लाख बढीमा किनबेच भयो । सबैभन्दा बढी नेपाल टेलिकमको २ करोड ९ लाखको सेयर खरीदबिक्री भयो । नबील बैंकको १ करोड ९० लाखको प्रोमोटर सेयर किनबेच भएको बजारमा बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले १ करोड ४८ लाख बढीको कारोबार गर्यो । शिखर इन्स्योरेन्सले १ करोड ४६ लाख, प्रभूू बैंकले १ करोड १५ लाखको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा बुधबार ७ स्थान वाणिज्य बैंकले कब्जा गरे भने २ स्थान बिमा र एक स्थान अन्य समूहको पोल्टामा गयो । 

धेरै कमाउने र गुमाउने कम्पनी
बुधबार सबैभन्दा बढी कर्णाली डेभलपमेन्ट बैंकले कमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । महालक्ष्मी विकास बैंकका लगानीकर्ताले पनि ७ प्रतिशतको हाराहारीमा सम्पत्ति बढाए । 

सबैभन्दा बढी माउण्ट मकालुु डेभलपमेन्ट बैंकले गुमायो । यो कम्पनीको सेयर मूल्य ६.२२ प्रतिशतले घट्यो । एभरेष्ट इन्स्योरेन्सले ६.१२ प्रतिशतले सम्पत्ति गुमायो भने यूनाइटेड इन्स्योरेन्स, लक्ष्मी भ्यालूू फण्ड १ र गुराँस लाइफ इन्स्योरेन्सले ६ प्रतिशतको हाराहारीमा गुमाए । 

बुधबार २८ कम्पनीको सेयर मूल्य बढ्यो भने बाँकी १०९ कम्पनीका लगानीकर्ताले गुमाए ।