काठमाण्डौ । बिक्री चापका कारण साताको अन्तिम कारोबार दिन पनि बजारमा उत्साह फर्किएन । ६.६५ को झिनो अंकले घटेको नेप्से १३३७.४६ अंकमा आइपुुगेको छ भने कारोबार रकम पनि घटेको छ । 

बिहीबार होटल र अन्य समूह बाहेक अन्य सबैमा रातो पोतियो । सबै समूहको गिरावट उति सारो डरलाग्दो नरहेकोले आगामी साता बजार स्थिर हुने देखिन्छ । कारण, बजार परिसूचकमा १० अंकसम्मको घटबढलाई सामान्य मानिन्छ । बजार घट्दा कारोबार रकममा पनि बुधबारको तुलनामा झिनो गिरावटका कारण धेरै अत्तालिनुपर्ने अवस्था भने नरहेको विश्लेषक बताउँछन् । 

बिहीबार वाणिज्य बैंक समूह ९.२५ अंकले घट्दा बिमा, विकास बैंक र जलविद्युतमा क्रमशः ३५.८३, ५.३९ र १.६१ अंकको गिरावट आयो । यस्तै, बित्त समूह ३.३१ अंकले घट्यो भने उत्पादनमूलकमा ५.०५ अंकको गिरावट देखियो । होटल समूह १५.९२ अंकले बढ्दा अन्य समूहको सूचक पनि ३.७६ अंकले उक्लियो । 

‘क’ वर्गका कम्प्नीको कारोबारमा मन्दी आएपछि सेन्सेटिभ इण्डेक्स १.५५ अंकले घट्यो भने फ्लोट इण्डेक्समा ०.५६ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी 
बिहीबार १ सय ३० कम्पनीका ७ लाख ६१ हजार १ सय ६४ कित्ता सेयर ३० करोड ४८ लाख बढीमा किनबेच भयो । सबैभन्दा बढी बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडले ४ करोड ६४ लाख बढीको कारोबार गर्यो । प्रभूू बैंकको २ करोड २२ लाखको संस्थापक सेयर किनबेच भयो भने एभरेष्ट बैंकले १ करोड १६ लाख बढीको कारोबार गर्यो । यस्तै, महालक्ष्मी विकास बैंकले १ करोड ११ लाखको कारोबार गर्दा प्रभूू बैंकले १ करोड २ लाखको कारोबार गर्यो । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ७ स्थान वाणिज्य बैंक, एक स्थान विकास बैंक, एक स्थान बिमा कम्पनी र बाँकी एक स्थान अन्य समूहको कम्पनीको बर्चश्व रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
बिहीबार आरएसडिसी लघुवित्त बित्तीय संस्थाका लगानीकर्ताले कुस्त कमाए । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतको हाराहारीले बढ्यो । यस्तै, फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, नेशनल माइक्रो फाइनान्स बित्तीय संस्था  र नेपाल ग्रामीण विकास बैंक लिमीटेडको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा बढ्यो । 

साताको अन्तिम कारोबार दिन राष्टिय बिमा कम्पनी लिमीटेडका प्रोमोटर सेयरधनीले ५.२१ प्रतिशतले सम्पत्ति गुमाउन पुुगे । सप्तकोशी डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स र सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो ।