काठमाण्डौ । गत साताको अन्तिम कारोबार दिनको बजारले दिएको संकेत अनुसार नै यो साताको पहिलो कारोबार दिन बजारले बुर्कुसी मारेको छ । नेप्से परिसूचक २४.९३ अंकले बढेर १३५४.३४ अंकको उचाईमा पुुगेको छ भने कारोबार रकम पनि गत बिहीबारको तुलनामा करिब २० करोडले बढेको छ । यसरी परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर)मा एकसाथ सुधार आउनुुलाई बजारको राम्रो संकेतको रुपमा विश्लेषकहरु बुुझ्ने गर्छन् । बजार विज्ञहरुले समेत इण्डेक्स र टर्नओभरमा एकसाथ सुधार आउनुुले बजारमा क्रयशक्ति बढेको र आगामी दिनमा बजार अझ माथि जानसक्ने संभावना देखिने दाबी गर्छन् । उनीहरुको दाबीलाई आधार मान्ने हो भने यो साता बजार अझ माथिल्लो विन्दूूसम्म पुुग्नसक्ने संभावना देखिन्छ । 

आइतबार बजार परिसूचकको छलाङसँगै अधिकांश समूहमा हरियाली छाएको छ । अरुबेला रुवाबासी चल्ने बिमा समूहले २२६.२ अंकले फड्को मार्दै शानदार प्रदर्शन गरेको छ भने वाणिज्य बैंकमा २३.१४ अंकको उछाल देखिएको छ । यस्तै, विकास बैंक २४.९८, होटल ४७.९३,  जलविद्युत १७.५५, बित्त ७.०७, र उत्पादनमूलक २१.७९ अंकले बढेका छन् । अन्य समूहमा भने ०.२९ अंकको झिनो गिरावट देखिएको छ । 

''क'' वर्गका कम्पनीहरुको कारोबारमा सुधार आएका कारण सेन्सेटिभ इण्डेक्स ५.६२ अंकले बढेको छ भने समग्र कारोबार समेत सुधार भएपछि फ्लोट इण्डेक्समा १.८९ अंकको वृद्धि देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार बजारमा कुल १ सय ४१ कम्पनीका कुल ११ लाख ८५ हजार ४ सय ८५ कित्ता सेयर ६१ करोड १ लाख बढी मूल्यमा किनबेच भए । सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको ८ करोड ४४ लाख बढीको सेयर खरीदबिक्री भयो । यस्तै, नेपाल लाइफको ३ करोड ५३ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको २ करोड ९२ लाख, एनबी बैंकको २ करोड ७५ लाखको कारोबार भयो । सनराइज बैंक लिमीटेडको २ करोड ३९ लाखको संस्थापक सेयर पनि किनबेच भयो । यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले २ करोड ८ लाख बढीको कारोबार गर्यो । आइतबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा वाणिज्य बैंकले ६ स्थान र बिमा कम्पनीले ४ स्थान कब्जा गरे। 

धेरै कमाउने र गुुमाउने कम्पनी
आइतबार तीन कम्पनीले पैसा छापे । आरएसडिसी लघुवित्त, नेरुडे लघुवित्त र एनबी इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । यस्तै, पोखरा फाइनान्सका लगानीकर्ताले ९ प्रतिशतको हाराहारीमा कमाए भने रिलायवल माइक्रो फाइनान्सको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा बढ्यो । 

आइतबार १२४ कम्पनीले कमाए भने १७ कम्पनीको सेयर मूल्य मात्रै घट्यो, त्यो पनि झिनो अंकले मात्र । यसको अर्थ, आइतबारको बजारले अधिकांश लगानीकर्तालाई खुशी बनायो । 

यो दिन सबैभन्दा धेरै गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको मूल्य ३.५ प्रतिशतले घट्यो । बुटवल पावर कम्पनीको मूल्यमा २.३४ प्रतिशतको गिरावट देखियो । बाँकी १५ कम्पनीको मूल्यमा झिनो मात्र गिरावट आयो । 

यो पनि पढ्नुहोस्: