काठमाण्डौ । लामो समयदेखि सुस्तताको मार भोगिरहेको बजारमा यो साता हरेक दिनजसो उछाल आइरहेको छ । संस्थागत(ठूला) लगानीकर्ताको बजारमा प्रवेशसँगै उछाल आइरहेको नेप्से परिसूचकमा यो बीचमा हल्लाको खेती पनि भइरहेको छ । संस्थागत र ठूला लगानीकर्ता बजारमा प्रवेश गरेसँगै बजारमा उछाल आउनुुलाई कतिपयले ‘रहस्यमय’ भनी टिप्पणी गरिरहँदा बुधबार पनि बजारमा १८.३३ अंकको उछाल आयो । नेप्से परिसूचक १४८०.५६ अंकको उचाईमा पुुग्यो भने यो दिन पनि कारोबार रकम १ अर्ब ३७ करोड २२ लाखको उचाईमा पुुगेको छ । तर मंगलबार भन्दा कारोबार रकम केही घटेको छ । 

केही दिनअघिदेखिको बजारको प्रवृति विश्लेषण गर्दा एक दिन बिमामा उछाल आए पनि त्यसपछि भने साना कम्पनीको चाँदी कटाई भइरहेको छ । माइक्रो फाइनान्स र साना पूूँजी भएका विकास बैंकले राम्रो कमाइरहेका छन् । ठूला लगानीकर्ताको प्रवेशसँगै साना संस्थाका सेयरधनी मालामाल हुने प्रवृति अझ केही दिन निरन्तर हुने बजारका कतिपय सूचकहरुले संकेत गरेका छन्। 

दुुई दिनअघि उछालको गतिमा कुदेको बिमा समूहको परिसूचक बुधबार भने ११५.९७ अंकले घटेको छ । बिमा कम्पनीको चुक्तापूँजी वृद्धि हुने हल्लाले एकाएक बढेको बिमा समूह मच्चियो मच्चियो अनि थच्चियोको अवस्थामा पुुगेको हो ।

अन्य सबै समूहका सूचकमा हरियाली छाएको छ । वाणिज्य बैंक समूह २५.६ अंकले बढेको छ भने विकास बैंक र बित्त समूहमा क्रमशः ४०.१५ र ८.७८ अंकको वृद्धि भएको छ । यस्तै, होटल समूहमा २७.२८, जलविद्युत समूह २५.४१ र अन्य समूह २.९ अंकले बढे । क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ४.१४ अंकले बढेको छ भने फ्लोट इण्डेक्समा पनि १.५३ अंक वृद्धि भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार बजारमा १ सय ४५ कम्पनीका २५ लाख ११ हजार ३ सय ६० कित्ता सेयर १ अर्ब ३७ करोड २२ लाख ७५ हजार ५ सय ३३ रुपैयाँमा किनबेच भयो । सबैभन्दा सानिमा बैंकले ७ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, नेपाल बैंक लिमीटेडले ५ करोड ९५ लाख, एनसीसी बैंकले ५ करोड १७ लाख, एनबी बैंकले ४ करोड ५२ लाख, नेशनल लाइफ इन्स्योरेन्सले ४ करोड ३२ लाख बढीको कारोबार गरेका छन् । यस्तै, बुधबार पनि नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड ३१ लाख बढीको कारोबार भएको छ भने प्रभूु बैंकले ४ करोड २६ लाख बढीको कारोबार गरेको छ । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ८ स्थानमा वाणिज्य बैंक र बाँकी २ स्थानमा बिमा कम्पनीको बर्चश्व कायम रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
बुधबार ६ कम्पनीले पैसा छापेका छन् । नेरुडे लघुवित्त विकास बैंक, एनएमबी माइक्रोफाइनान्स, आइएलएफसीओ माइक्रो फाइनान्स, काबेली विकास बैंक, लक्ष्मी लघुवित्त बित्तीय संस्था र सेती फाइनान्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ । सप्तकोसी डेभलपमेन्ट बैंक, फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्सको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीका दरले वृद्धि भएको छ । 

बुधबार राप्तिभेरी विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरैले घट्यो । यो बैंकको सेयर मूल्यमा ७ प्रतिशतको गिरावट आयो । यस्तै, प्रभूू इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि क्रमशः ५.५९ र ५.५६ प्रतिशतले घटेको छ ।