काठमाण्डौ । बुधबार बजारले यूटर्न लिएको छ । मंगलबारसम्म ठूलो पहिरो सामना गरिरहेको बजार यूटर्न भई उछालको बाटोतर्फ उन्मुख भएको हो । बजारमा बैंक, बिमा तथा बित्तीय संस्थाहरुको तेश्रो त्रैमासको रिपोर्ट धमाधम आउन थालेपछि लगानीकर्ताहरुले सेयर खरीदको चाप बढाउँदा बजारमा उछाल देखिएको हो ।

केही वाणिज्य बैंकहरुबीच मर्जर हुने हल्लाले समेत बजार प्रभावित भएको देखिएको छ । एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच मर्जरको हल्लाले यी दुवै कम्पनीको सेयर खरीदमा उच्च चाप देखिएको छ ।

मंगलबारको तुलनामा कारोबार रकममा आएको गिरावटले हौसिएर सेयर बिक्री गर्ने हतारो गर्नेहरु केही सेलाएका देखिएको छ । बजार वृद्धिको संकेत पाएर बिक्री गर्नेहरु समेत रोकिएका, सर्ट टर्म कारोबारीले नाफा बुक गरेपछि फेरि बजार बढ्ने आशामा खरिदारी बढाएका र संस्थागत लगानीकर्ताहरुले समेत खरीदलाई तीव्र पारेका देखिएको छ ।

बुधबार नेप्से परिसुचक ४८.९७ अंकले बढेर १६६१.०१ को उचाईमा पुगेको हो । क वर्गका कम्पनीको सेयर खरीदमा उच्च चाप परेका कारण सेन्सेटिभ इण्डेक्स १०.५३ अंकले बढेको छ भने फ्लोट इण्डेक्समा ३.५ अंकको बढोत्तरी देखिएको छ ।

यो दिन अधिकांश समुहको स ुचकमा ३ प्रतिशत बढीको बढोत्तरी देखिएको छ । बिमा समुह २८३.५२ अंकले बढ्दा वाणिज्य बैंक, विकास बैंक र बित्त समुहमा क्रमशः ४७.८६, ६८.९९ र १८.०१ अंकले बढेका छन् । यस्तै, होटल समुहमा ८४.२९, जलविद्युत समुहमा ६८.६१, उत्पादनमुलक ९.४३ अंकले बढेका छन् । अन्य समुहमा ०.२९ अंकको गिरावट देखिएको छ ।

धेरै कारोबार गर्ने कम्पनी
बुधबार १ सय ४२ कम्पनीका १८ लाख २ हजार ४ सय ६७ कित्ता सेयर १ अर्ब ७ करोड १४ लाख २४ हजार ३ सय ४८ रुपैयाँमा किनबेच भएको छ । राष्टिय बिमा कम्पनी लिमीटेडले सबैभन्दा धेरै ५ करोड बढीको कारोबार गरेको छ । यस्तै, गुराँस लाइफ इन्स्योरेन्सले ४ करोड बढी, सानिमा बैंकले पनि ४ करोड बढी, मुक्तिनाथ विकास बैंकले ३ करोड ४३ लाख, प्राइम लाइफ इन्स्योरेन्सले ३ करोड ४२ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले ३ करोड २० लाख बढीको कारोबार गरेका छन् । बुधबार धेरै कारोबार गर्ने १० कम्पनीको सुचिमा ६ स्थान बिमा कम्पनी, ३ स्थान वाणिज्य बैंक र एकस्थान विकास बैंकले ओगटेका छन् ।

धेरै कमाउने र गुमाउने कम्पनी
बुधबार ४ कम्पनीले १० प्रतिशत र अन्य ६ कम्पनीले १० प्रतिशतको हाराहारीमा सम्पत्ति बढाएका छन् । लक्ष्मी लघुवित्त बित्तीय संस्था, काबेली विकास बैंक, मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक र फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको सेयर मुल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यस्तै महिला सहयात्रा माइक्रो फाइनान्स बित्तीय संस्था, आइएलएफसीओ माइक्रो फाइनान्स, स्वाबलम्बन विकास बैंक, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, अरुण काबेली पावर लिमीटेड र कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको सेयर मुल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो ।

ग्लोबल आइएमई समुन्नत स्कीम १ र एनआइबिएल समृद्धि फण्ड १ को सेयर मुल्य सबैभन्दा धेरै घट्यो । यी २ कम्पनीको मुल्य २ प्रतिशतको हाराहारीमा घट्यो ।