काठमाण्डौ । एकाएक राजनीतिको आकाशमा मडारिएको कालो बादलले बजारमा समेत निराशा ल्याएको छ । स्थानीय निर्वाचन तोकिएको मितिमा नहुने अवस्था देखिएपछि निरश राजनीतिकै लयमा बजार समेत दौडिएको हो । फलस्वरुप बजारमा सेयर खरीदको न्यून र बिक्रीको उच्च चाप देखिएपछि नेप्से परिसूचक १९.८४ अंकले घटी १६५०.७८ को विन्दुमा झरेको छ । अघिल्लो सातासम्म एक अर्बको हाराहारीमा हुँदै आएको कारोबार(टर्नओभर) समेत घटेर ७८ करोडमा झरेको छ ।

बजार परिसूचकसँगै समानान्तर ढंगले कारोबार रकम पनि घट्नुलाई विश्लेषकहरुले आगामी दिनका लागि नराम्रो संकेत भन्ने गरेका छन् । तोकिएकै मितिमा निर्वाचन होला भनेर उत्साही भइरहेका लगानीकर्तालाई ठूला दलका जिम्मेवार नेताको अभिव्यक्ति, चुनावको मिति सार्न भइरहेको चलखेल लगायतका खबरले निराश बनाइदिएको स्पष्ट संकेत बजारमा देखिएको छ । यो अवस्था जारी रहे बजार केही दिनसम्म घट्ने अवस्था समेत आउने विश्लेषकहरुको दाबी गरेका छन् । ‘बजार परिसूचक र कारोबार रकम एकसाथ घट्नु भविष्यको बजारका लागि राम्रो संकेत होइन ।’ स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्यालले भने–‘यसले आगामी बजार अझ घट्छ कि भन्ने शंकालाई मजबुत बनाइदिनसक्छ ।’

साताको पहिलो कारोबार दिन उत्पादनमूलक र अन्य बाहेकका सबै समूहमा रातो पोतिएको छ । बिमा समूह १६७.९२ अंकले घटेको छ भने वाणिज्य बैंक(बैकिंग) समूह २१.१८ अंकले ओरालो लागेको छ । विकास बैंक, बित्त, होटल र जलविद्युत समूह क्रमशः १५.३७, ९.०७, ५३.५८ र १३.६२ अंकले घटेका छन् । उत्पादनमूलक ३०.१ अंकले बढ्दा अन्य समूहमा ३.७६ अंकको बढोत्तरी मात्र देखियो ।

‘क’ वर्गका कम्पनीको कारोबारमा मन्दी आउँदा सेन्सेटिभ इण्डेक्समा ४.४३ अंकले कमी आएको  छ भने समग्र कारोबार समेत शिथिल भएपछि फ्लोट इण्डेक्समा १.४९ अंकको गिरावट देखिएको छ ।

धेरै कारोबार गर्ने कम्पनी
आइतबार बजारमा १ सय ४३ कम्पनीका १२ लाख ४० हजार १ सय ४२ कित्ता सेयर ७८ करोड ५६ लाख ४३ हजार ७ सय १३ रुपैयाँमा किनबेच भयो ।

यो दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ४ करोड  ५९ लाख बढीको कारोबार गर्यो । यस्तै, प्राइम लाइफ इन्स्योरेन्सले ३ करोड ४५ लाख, सूर्य लाइफ इन्स्योरेन्सले २ करोड ८५ लाख, गुराँस लाइफ इन्स्योरेन्सले २ करोड ५५ लाख बढीको कारोबार गरे । एनसीसी बैंकले २ करोड ४६ लाख बढीको कारोबार गर्दा अरुण काबेली पावर लिमीटेडको पनि २ करोड ३५ लाख बढीको सेयर किनबेच भयो । आइतबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान बिमा कम्पनीले ४ स्थान वाणिज्य बैंक र एक स्थान जलविद्युत कम्पनीले कब्जा गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
बजार परिसूचक र कारोबार रकममा तीव्र गिरावट आए पनि तीन कम्पनीका लागि लगानीकर्ता आइतबार मालामाल भए । नयाँ नेपाल लघुवित्त विकास बैंक र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा उछाल आयो । यस्तै, साइन रेसुंगा डेभलपमेन्ट बैंकका लगानीकर्ताले समेत साढे ८ प्रतिशतको हाराहारीमा सम्पत्ति बढाए ।

खानी खोला हाइड्रोपावर र महिला सहयात्रा माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ५ प्रतिशत भन्दा बढीले घट्न पुग्यो । यस्तै, अरुण फाइनान्सको सेयर मूल्य पनि ५ प्रतिशतले घट्यो ।