काठमाण्डौ । दोश्रो बजारमा विगत केही दिनदेखि सूचक बढे पनि कारोबार रकम घट्ने प्रवृति देखिएको छ । यो प्रवृति अझै केही समयसम्म लम्बिने र बजार तत्काल स्थिर भएर बढ्ने संभावना निकै कम भएको भन्दै यस्तो बेलामा सम्हालिएर मात्र लगानी गर्न विश्लेषकहरुले लगानीकर्तालाई सुुझाएका छन् । 

‘बजार थप घट्ला भन्ने आशंका समेत लगानीकर्तामा व्याप्त देखिन्छ ।घटेकै बजारमा लगानी गर्न चाहनेको आत्मविश्वास समेत बढेको देखिएन ।’

विश्लेषकहरुका अनुसार पुस मसान्तको क्लोजिङसँगै यही बेला नेपाल लाइफ जस्ता राम्रा कम्पनीको एफपीओ आउने क्रम जारी रहेकोले लगानीकर्ताहरुसँग लगानीका धेरै अप्सन छन् । यही कारण अधिकांश लगानीकर्ता जोखिमयुक्त बजारमा जोखिम मोलेर लगानी गर्न छाडेर एफपीओ, आइपीओ तथा बैंकको मुद्धती खातामा पैसा राख्नेतर्फ लागेका छन् । यसले बजारको कारोबार घटाएको छ र समग्र बजारलाई शिथिल बनाइदिएको छ । 

स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौडेलका अनुसार बजारमा कारोबार रकम तत्काल स्थिर भई बढ्ने र समग्र बजारमा रौनक फर्किने संभावना न्यून छ । ‘बजारमा यो बेला लगानी गरे रिटर्नका लागि लामो समयसम्म कुर्नुुपर्ने कारणले समेत लगानीकर्ता एफपीओ र आइपीओको विकल्पतर्फ लागेका छन् ।’ उनले भने–‘बजार स्थिर भएर बढ्न तथा रौनक फर्कन अझै केही समय लाग्नसक्छ ।’

उनका अनुसार तरलताको अवस्था दिनहुँ जटिल बन्दै जाँदा कर्जा प्रवाहमा बैंक तथा बित्तीय संस्थाहरुले कडाई गरेका छन् । कर्जाको दर ह्वात्तै बढ्नुु र दोश्रो बजारलाई कर्जाको बढेको ब्याज जत्तिको रिटर्न समेत दिने अवस्था नरहेका कारण समेत बजारमा मन्दी आएको उनको भनाई छ । ‘बजार थप घट्ला भन्ने आशंका समेत लगानीकर्तामा व्याप्त देखिन्छ ।’ उनले भने–‘घटेकै बजारमा लगानी गर्न चाहनेको आत्मविश्वास समेत बढेको देखिएन ।’ 

उनको अनुसार अहिले नेपाल लाइफ जस्ता ठूला तथा राम्रा कम्पनीको एफपीओ र आइपीओ आएका कारण त्यसको प्रभाव बजारमा देखिएको छ । ‘एनएलआइसी(नेपाल लाइफ)को एफपीओको प्रभावले बजारको चहलपहल घटाइदिएको छ ।’ उनले भने–‘थप कम्पनीका एफपीओ र आइपीओ पाइपलाइनमा रहेका कारण लगानीकर्ता तत्काल दोश्रो बजारतिर फर्किने संभावना न्यून छ ।’ लगानीकर्ताले एफपीओ र आइपीओलाई लगानीको राम्रो अवसरको रुपमा समेत हेर्ने गरेका छन् ।

यही बेला उच्च अनुुपातमा हकप्रद निश्कासन भइरहेका छन्, लगानीकर्ताको ठूलो लगानी यसतर्फ पनि गइरहेको छ । ‘दोश्रो बजारको कारोबार भन्दा अन्य विकल्पतर्फको आकर्षण बढेका कारण बजार सुस्ताएको हो ।’ उनले बिजशालासँग भने–‘सकारात्मक कुराहरु केही आएका छैनन् र तत्काल आउने छाँट पनि देखिन्न, तसर्थ बजारमा तत्काल रौनक फर्किने संभावना न्यून छ ।’ 

चलखेलले पनि बजारमा सूचक बढ्दा पनि टर्नओभर नबढेको अवस्था देखिएको हो भन्ने प्रश्नमा उनले ठूलो चलखेल नरहेको दाबी गरेका छन् । ‘अहिलेको बजारमा पहिलाजस्तो ठूलो चलखेल गर्ने ठाउँ नै देखिदैन ।’–उनले भने । 

अग्रज लगानीकर्ता तथा सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालको विश्लेषणमा पनि बजार तत्काल सुधार हुने अवस्था निकै न्यून छ । ‘बजार शिथिल हुने बेला नै हो यो ।’ उनले बिजशालासँग भने –‘लगानीकर्तासँग अन्य राम्रा अप्सन धेरै भएकोले त्यतै दौडिएका छन् । यही कारण बजारमा चाम देखिएको छैन ।’

उनका अनुसार दलहरुबीच सहमति भई चुनावको घोषणा भए त्यसले बजारको रौनक फर्काउनेछ । ‘६ महिनाको ब्यालेन्ससिट आउन थालेपछि त्यसले बैंक तथा बित्तीय संस्थाहरुमा केही चाम आउनसक्छ ।’ उनले भने –‘यस बाहेक अन्य कारणले बजार तत्काल बढ्ला वा हराभरा होला भन्ने आधार देखिदैन ।’