काठमाण्डौ । अघिल्लो दिन निराशाको कालो बादल छाएको बजारमा मंगलबार नाटकीय बाउन्स ब्याक भएको छ । बजारलाई घटाएर एउटा विन्दूमा पुर्याई चलखेल गर्नेहरुको समूह सक्रिय रहेको आशंका भइरहेको बेला बजारलाई अस्वभाविक रुपमा घटाउने र सस्तोमा सेयर कुम्ल्याउने खेल सुरु भएको संकेत देखिएको हो । केही दिनदेखि बजारको प्रकृति हेर्दा संगठित गिरोहले बजार घटाएर न्यून विन्दूमा झार्ने, अत्याएर साना लगानीकर्तालाई राम्रा कम्पनीको सेयर बिक्री गर्न बाध्य पार्ने र बजार न्यून विन्दूमा पुुगेको मौका छोपी ठूलो परिमाणमा सेयर आफैंले खरीद गर्ने चलखेल भइरहेको स्रोतहरुले बताएका छन् । यही कारण सोमबार भीषण पहिरोको सामना गरेको बजार  १४ घण्टापछि मंगलबार भने १७ अंकको हाराहारीमा वृद्धि भयो । कारोबार रकम पनि अझ बढ्यो। 

दोहोरो अंकमा वृद्धि भएको नेप्से परिसूचक १३२६.०० अंकमा अडिएको छ । ‘क’ वर्गका कम्पनीको कारोबारमा एकाएक सुधार देखिएपछि सेन्सेटिभ इण्डेक्समा ४ अंकको सुधार भएको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स चाहि १.२७ अंकले मात्र बढेको छ । सुधारिएका बजारमा प्रतिष्ठित बैंक मानिएको एनएमबी बैंकको संस्थापक सेयरधनीले पहिरोको सामना गर्नु पर्यो । एनएमबी बैंकको संस्थापक सेयरको मूल्य विगत केही दिनदेखि निरन्तर घटिरहेको छ । 

मंगलबार बिमा समूह र अन्य बाहेक बाँकी सबै समूहको सूचक हराभरा भएका छन् । सोमबार करिब ९ प्रतिशतले घटेको बिमा समूहको सूचक मंगलबार २८. ४२ अंक(०.५ प्रतिशत) मात्र घट्यो भने अन्य समूहमा ०.२९ अंकको झिनो गिरावट देखियो । 

सोमबार उच्च अंकले घटेको वाणिज्य बैंकले २५.४४ अंकको शानदार बाउन्स ब्याक गर्यो भने विकास बैंक, बित्त र जलविद्युत समूह क्रमशः ३.३२, ९.२ र १३.१५ अंकले बढे । होटल समूहमा १०९.७ अंकको उच्च बढोत्तरी देखियो भने उत्पादन मूलक १९.८२ अंकले वृद्धि भयो । 

धेरै कारोबार गर्ने कम्पनी
मंगलबार १३७ कम्पनीको १६ लाख ४९ हजार कित्ता सेयर ५२ करोड ८५ लाखमा किनबेच भयो । सबैभन्दा बढी गरिमा विकास बैंकको ३ करोड ६८ लाखको प्रोमोटर सेयर किनबेच भयो । यस्तै, नेपाल टेलिकमको  २ करोड ५१ लाख बराबरको सेयर किनबेच भयो । सिद्धार्थ बैंकले २ करोड ३१ लाख, प्रभूू बैंकले २ करोड २९ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ५ लाख, एशियन लाइफ इन्स्योरेन्सले २ करोड ४ लाख, सानिमा बैंकले १ करोड ९० लाख, एनबी बैंकले १ करोड ६९ लाख बढीको कारोबार गरे । मंगलबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंकले, २ स्थान बिमा कम्पनीले, एक स्थान जलविद्युत समूह र बाँकी एक स्थान अन्य समूहले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
सोमबार ७३ कम्पनीको सेयर मूल्य बढ्यो भने ६४ कम्पनीको सेयर मूल्य घट्यो । सोमबार ५ कम्पनीको मात्र सेयर मूल्य बढेको थियो, बाँकी सबैमा भीषण पहिरो गएको थियो । 

बाउन्स ब्याक भएको बजारमा तीन कम्पनीले पैसा छापे । सोल्टी होटल, श्रीराम सुुगर मिल्स लिमीटेडको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ९ प्रतिशत हाराहारीको वृद्धि देखियो । सेञ्चुरी कमर्सियल बैंकले ७.३३ प्रतिशतको बाउन्स ब्याक गर्यो भने सगरमाथा फाइनान्सको सेयर मूल्य ७.४४ प्रतिशतले बढ्यो । 

आशाको किरण देखिएको बजारमा पनि एनएमबी बैंकले भने धेरै गुमायो । यो बैंकको संस्थापक सेयरको मूल्य ९.१७ अंकले घट्यो । यस्तै, गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतले पहिरो गयो ।