काठमाण्डौ । बजार बढ्ने आम अपेक्षाका बीच कारोबार रकममा बढोत्तरी भए पनि नेप्से परिसूचकमा भने दोहोरो अंकको पहिरो गई १२७ कम्पनीका लगानीकर्तामा रुवाबासी भएको छ ।

कुल १३७ कम्पनीको कारोबार भएको बजारमा १० कम्पनीको सेयर मूूल्य मात्र बढ्दा बाँकी १२७ कम्पनीको सेयर मूल्य पनि घटेको छ । बजारमा एकैदिन लगानीकर्ताले करोडौं रुपैयाँ गुमाउन पुुगेका छन् । 

बुधबार बजार राताम्मे भएको छ । नेप्से परिसूचक २१.६२ अंकले घटी १३२२.९८ अंकमा आइपुुगेको हो । सबैभन्दा भीषण पहिरो बिमा समूहले भोगेको छ । यो समूहको सूचक १७९.०९ अंकले घटेको हो । यस्तै, वाणिज्य बैंक, विकास बैंक र बित्त समूहको सूचक क्रमशः १८.५९, २०.६४ र ७.७७ अंकले घटेको छ । होटल समूहमा ४४.३९ अंकको गिरावट देखिएको छ भने जलविद्युतमा २०.७२ र अन्य समूहमा ९.२६ अंकको पहिरो गएको छ । 

‘क’ वर्गका कम्पनीको कारोबार खस्किएसँगै सेन्सेटिभ इण्डेक्स ४.७६ अंकले घटेको छ भने समग्र कारोबार समेत खस्किएपछि फ्लोट इण्डेक्समा समेत १.५ अंकको गिरावट देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार बजारमा कुल १३७ कम्पनीको १० लाख १८ हजार ६ सय २ कित्ता सेयर ३४ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा बढी प्रभू बैंकले २ करोड ५० लाख बढीको कारोबार गरेको छ । यस्तै, एभरेष्ट बैंकले २ करोड १ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ करोड ६३ लाख, नेपाल लाइफले १ करोड ३५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड २८ लाख बराबरको कारोबार गर्यो । नबील बैंकको १ करोड २३ लाखको प्रोमोटर सेयर किनबेच भएको बजारमा धेरै कारोबार गर्ने १० कम्पनीमध्ये ७ स्थान वाणिज्य बैंकले ओगट्यो । बाँकी ३ स्थानमा बिमा कम्पनीको बर्चश्व रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
बुधबार सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको सेयर मूल्य बढेको छ । यसको सेयर मूल्यमा ५.६० प्रतिशतको बढोत्तरी भयो । यस्तै, माउण्ट मकालु डेभलपमेन्ट बैंक र न्याग्दी ग्रुप पावर लिमीटेडको सेयर मूल्य साढे २ प्रतिशतको हाराहारीमा मात्र वृद्धि भयो । कुल १० कम्पनीको मात्र सेयर मूल्य बढ्यो भने बाँकी १२७ कम्पनीको सेयर मूल्य घटेर लगानीकर्ता रुनु न हाँँस्नुको अवस्थामा पुुगेका छन् । 

सबैभन्दा बढी सूूर्य लाइफ इन्स्योरेन्सका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्य ६.४१ प्रतिशतले घट्यो । यस्तै, लक्ष्मी लघुवित्त बित्तीय संस्था, लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेड, हिमालयन जनरल इन्स्योरेन्स र तिनाउ डेभलपमेन्ट बैंक लिमीटेडको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो ।