काठमाण्डौ । लगानीकर्ताको ठूलो पैसा सार्वजनिक निश्कासनहरुमा फसे पनि सेयर बजार भने साताको अन्तिम कारोबार दिन सकारात्मक संकेत छाड्दै बन्द भएको छ । 

निरन्तर निराशाको कालो बादल मडारिएको बजार झिनो अंकले बढेसँगै कारोबार रकमको साथका कारण आगामी सातादेखि बजारमा स्थिरता र थोरै भए पनि सुधार हुने संकेत देखिएको हो। 

नेप्से परिसूचकमा ०.३३ अंकको झिनो बढोत्तरी भए पनि कारोबार रकम भने ३४ करोडको हाराहारीमा पुुगेको छ । बजारका सबै सूचकहरुमा खासै ठूलो गिरावट नआउनुु, परिसूचकमा झिनै भए पनि बढोत्तरी हुुनु र टर्नओभरको साथ पाएका कारण बजार आगामी सातादेखि केही दिन स्थिर भई त्यसपछि माथि जानसक्ने देखिन्छ । बैंक तथा बित्तीय संस्थाका प्रगति विवरणहरु समेत सार्वजनिक भइरहँदा लगानीकर्ताहरु चलमलाएका छन् भने यो गति आगामी सातादेखि केही बढ्ने विश्लेषकहरुले बताएका छन् । 

स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्यालले ६० अर्ब बढी रकम राम्रा कम्पनीको एफपीओ र आइपीओमा फ्रिज भएको अवस्थामा समेत ३४ करोडको टर्नओभर हुनुलाई सकारात्मक संकेत भन्छन् । ''यसले बजार स्थिर भएर जाने देखिन्छ ।'' उनले भने-'' अहिलेका लागि बजार स्थिर भएर केही मात्र बढ्यो भने त्यो नै ठूूलो कुरा हो ।''

उनका अनुसार सार्वजनिक निश्कासनमा लगानीकर्ताको ६० अर्ब बढी मात्र फसेको छैन, यही बेला पूँजी वृद्धिका चापका कारण लगानीकर्तालाई हकप्रद भर्न पैसा चाहिएको छ । लगानीयोग्य रकम अभावका कारण हातमा पूँजी नहुँदा समेत झिनै अंकले भए पनि नेप्से बढ्नु कारोबार रकम ३० देखि ४० करोडको हाराहारीमा हुनुु सुधारको राम्रो संकेत हो । आइपीओ र एफपीओ नपरेको पैसा फिर्ता हुन थालेपछि बजार एकपटक फेरि बुम हुने उनको दाबी छ । 

बिहीबार वाणिज्य बैंक र उत्पादनमूलकमा मात्र झिनो गिरावट देखियो । बाँकी सबै समूहको सूचक हराभरा भयो । 

वाणिज्य बैंक समूह ३.५१ अंकले घट्यो भने उत्पादनमूलक ८.८५ अंकले । बिमा समूहमा ५२.२४ अंकको बढोत्तरी देखियो भने विकास बैंक र बित्त समूहमा क्रमशः ०.७३ र ५.४४ अंकको वृद्धि देखियो । जलविद्युत, ट्रेडिङ, होटल र अन्य समूह क्रमशः १०.७४, १.१३, ३.०२ र १.१६ अंकले उक्लिए । 

धेरै कारोबार गर्ने कम्पनी
बिहीबार १३१ कम्पनीका ११ लाख १ हजार ४ सय १२ कित्ता सेयर ३३ करोड ९५ लाखमा किनबेच भयो । समूहगत हिसाबले वाणिज्य बैंकले नै लिड गर्यो । वाणिज्य बैंकहरुले १७ करोड बढीको कारोबार गरे । बिमा कम्पनील ६ करोड र विकास बैंकहरुले ३ करोड बढीको कारोबार गरे । कम्पनीगत हिसाबले बिहीबार युनियन फाइनान्सको २ करोड ६५ लाखको संस्थापक सेयर किनबेच भयो । प्रभू बंैकले २ करोड १४ लाखको कारोबार गरी वाणिज्य बैंकहरुलाई लिड गर्यो भने नेपाल बैंक लिमीटेडले समेत १ करोड ८८ लाख बढीको कारोबार गर्यो । नेपाल एसबीआई बैंकले १ करोड ६४ लाख, मेगा बैंकले १ करोड ५४ लाख र सिद्धार्थ बैंकले १ करोड २८ लाख बढीको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ८ स्थानमा वाणिज्य बैंक, एक स्थानमा बिमा कम्पनी र एक स्थानमा फाइनान्स हाबी भए । 

धेरै कमाउने र गुमाउने कम्पनी
बिहीबार राष्ट्रिय विमा संस्थानले पैसा छाप्यो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । कर्णाली विकास बैंकको सेयर मूल्य पनि ८ प्रतिशत बढीले वृद्धि भयो । 

हिमालयन डिस्टीलरी लिमीटेडको सेयर मूल्य भने ६ प्रतिशतको हाराहारीमा घट्यो । मिथिला लघुवित्त विकास बैंकको सेयर मूल्यमा पनि ४ प्रतिशतको हाराहारीमा गिरावट आयो ।