काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बजार स्थिर देखिएको छ । बजारलाई कारोबार(टर्नओभर)को बलियो साथ जारी रहेकोले आगामी साता बजार केही माथि उठ्ने संभावना देखिएको छ । 

बिहीबार नेप्से परिसूचक ०.६५ अंकले मात्र घटेको छ, जबकि बुधबार दोहोरो अंकले बजारमा पहिरो गएको थियो । बजारमा तीव्र बिक्री चाप पर्दा २ अर्ब ५६ करोड बढीको कारोबार भएको थियो । 

साताको अन्तिम कारोबार दिन ४ समूहको सूचकमा हरियो पोतिएको छ भने अन्य ४ समूहको सूचक घटेको छ । 

तीव्र उतारचढावमा दौडिएको बजारमा सबैभन्दा बढी बित्त समूहको सूचक ८ अंक(१.१२ प्रतिशत)ले बढेको छ । यस्तै, बिमा समूह ६९.९३(०.९ प्रतिशत), अन्य समूह २.०२ अंक र होटल समूह ५.५(०.२७ प्रतिशत)ले घटेको वृद्धि भएको छ । 

यस्तै, वाणिज्य बैंक ३.८, विकास बैंक ५.८१, जलविद्युत समूह १६.९८ र उत्पादनमूलक ११.०१ अंकले घटे । 

सेन्सेटिभ इण्डेक्स ०.०६ अंकले घट्दा फ्लोट इण्डेक्समा चाहि ०.०३ अंकले बढेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
बिहीबार १ सय ४० कम्पनीका २७ लाख २३ हजार ६ सय २६ कित्ता सेयर १ अर्ब ४८ करोड ७८ हजार ७ सय ६८ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी २२ करोड ५५ लाख बढीको कारोबार सानिमा बैंकले मात्र गरेको छ । लक्ष्मी बैंकले ११ करोड ९४ लाख बढीको कारोबार गर्यो भने कृषि विकास बैंकले ८ करोड ६० लाख, एनबी बैंकले ५ करोड ४६ लाख बढीको कारोबार गर्यो । एनसीसी बैंकले ५ करोड २५ लाख, नेपाल बैंकले ४ करोड २६ लाख बढीको कारोबार गरेका छन् । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ९ स्थान वाणिज्य बैंक र १ स्थान बिमा कम्पनीले ओगटेका छन् । 

धेरै कमाउने र गुुमाउने कम्पनी
बिहीबार सिर्जना फाइनान्स बित्तीय संस्थाका लगानीकर्ताले पैसा छापे । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । यस्तै, ज्योति विकास बैंक र साहारा विकास बैंकको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा बढ्यो । 

सेती फाइनान्स र रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्थाले सबैभन्दा धेरै गुमाए । यी दुवै कम्पनीको सेयर मूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आयो ।