काठमाण्डौ । बजार स्थिर हुने संकेत देखिएको छ । बुधबार २.०८ अंकले घटेर नेप्से परिसुचक १६७०.३० अंकमा झरेको हो । नेप्से परिसुचक झिनो अंकले झरे पनि १० कम्पनीका लगानीकर्ता भने मालामाल भएका छन् । कमाउनेमा माइक्रो फाइनान्स र फाइनान्स कम्पनी अगाडि छन् ।

कारोबार रकम पनि निकै कम भई ९५ करोड ५१ लाखमा आइपुगेको छ ।

बजारमा ३ समुहको सुचकमा रातो पोतिएको छ भने ५ समुहको परिसुचकमा वृद्धि भएको छ ।

वाणिज्य बैंक समुह ७.९ अंकले घटेको छ भने होटल समुह १५.८४ र उत्पादनमुलक समुहमा ३०.१ को गिरावट देखिएको छ ।

विकास बैंक, जलविद्युत, बित्त, बिमा र अन्य समुह क्रमशः १७.३१, ९.२७, ३.८७, ६.०७ र २.८९ अंकले बढेका छन् । सेन्सेटिभ इण्डेक्स १.५६ अंक र फ्लोट इण्डेक्समा ०.२२ अंकले घटेका छन् ।

धेरै कारोबार गर्ने कम्पनी
बुधबार बजारमा १ सय ४५ कम्पनीका १४ लाख ९० हजार २ सय ४८ कित्ता सेयर ९५ करोड ५१ लख ९० हजार ५ सय रुपैयाँमा किनबेच भएको छ ।

बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ६ करोड ५४ लाख बढीको कारोबार गरेको छ । राष्ट्रिय बिमा कम्पनी लिमीटेडको ६ करोड ५३ लाख बढीको संस्थापक सेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकले ३ करोड ३६ लाख बढी, एनसीसी बैंकले ३ करोड ३३ लाख, प्रभु बैंकले ३ करोड २७ लाख, ज्योति विकास बैंकले ३ करोड २५ लाख बढीको कारोबार गरेको छ । राष्ट्रि«य बिमा कम्पनीको ३ करोड बढीको साधारण सेयर समेत किनबेच भएको छ । बुधबार धेरै कारोबार गर्ने १० कम्पनीको सुचिमा ६ स्थान बिमा कम्पनी, ३ स्थान वाणिज्य बैंक र १ स्थान विकास बैंकले कब्जा गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
बजार परिसुचक नबढे पनि १० कम्पनीले पैसा छापे । २ कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढ्यो भने बाँकी ८ कम्पनीको मुल्यमा १० प्रतिशतकै हाराहारीमा वृद्धि देखियो ।

एनएमबी माइक्रो फाइनान्स बित्तीय संस्था र महिला सहयात्रा माइक्रो फाइनान्सको सेयर मुल्य १० प्रतिशतले बढेको छ । यस्तै, रिलायवल माइक्रो फाइनान्स, राष्ट्रिय बिमा कम्पनीको साधारण र संस्थापक सेयर, नयाँ नेपाल लघुवित्त विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, अरुण फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र ललितपुर फाइनान्सको सेयर मुल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो ।

बुधबार सबैभन्दा बढी सिर्जना फाइनान्सको सेयर मुल्य घट्यो । यो कम्पनीको सेयर मुल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आयो ।