काठमाण्डौ । घटेर निराशाको बाटो समातिरहेको बजारले मंगलबार भने केही राम्रो संकेत दिएको छ । हिजोको कारोबार रकममा प्रभूू बैंकको २० करोड बढीको संस्थापक सेयर कारोबार भएको थियो । त्यसलाई पर सारेर समग्र बजारको मंगलबारको कारोबार हेर्दा सन्तोष मान्नुपर्ने अवस्था देखिएको छ भने भविष्यमा बजार केही माथि उक्लिनसक्ने विश्लेषण गरिएको छ । 

बैंक तथा बित्तीय संस्थाहरुले धमाधम दोश्रो त्रैमासको बित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । पहिलो ६ महिनाको विवरणले समेत कुन कम्पनीले कति हदसम्म नाफा गर्नसक्ला र कतिसम्म बोनस दिनसक्ला भनेर केही आँकलन गर्न सकिने भएकोले यही घडीको प्रतिक्षामा बसेका लगानीकर्ता समेत अब सलबलाउन थालेका छन् । उनीहरुको सक्रियतासँगै दोश्रो त्रैमासमै पनि राम्रो वित्तीय विवरण दिने कम्पनीहरुतर्फ आकर्षण बढ्नेछ । यसले बजारमा सेयर खरीदको चाप बढाई परिसूचकलाई उकालो बाटोमा डोहोर्याउने आशा गरिएको छ । 

मंगलबारै पनि यस्तो संकेत देखियो । लामो समयपछि कारोबार खुले पनि बित्तीय अवस्था खराब भएका कारण ९ प्रतिशतसम्म सेयर मूल्य गुमाएको प्रभूू बैंकले मंगलबार नै दोश्रो त्रैमासको विवरण सार्वजनिक गरेपछि त्यसको प्रभाव बजारमा देखियो । प्रभूू बैंकले समग्र व्यापार तथा नाफामा कलात्मक ढंगले बाउन्स ब्याक गरे झै त्यसको प्रभावले सेयर बजारमा पनि उसको बाउन्स ब्याक भयो । चमात्कारिक बित्तीय विवरण सार्वजनिक गरेकै दिन प्रभूू बैंकको ७ करोड बढीको सेयर किनबेच भयो । 

मंगलबार नेप्से परिसूचक ३.०५ अंकले घटेर १४६३.०४ अंकमा आइपुुगे पनि कारोबार रकममा भने सुधार आएको छ । प्रभूको संस्थापक सेयरको व्यापारलाई हटाएर हेर्दा आइतबार २७ करोड ५३ लाखको हाराहारीमा रहेको कारोबार मंगलबार बढेर ३४ करोड पुुगेको देखिन्छ । परिसूचक सामान्य रुपमा घटे पनि कारोबार रकमले चाहि बजारको साथ नछाड्नुुलाई आगामी दिनका लागि सुखद मानिन्छ । विश्लेषकहरुका अनुसार मंगलबारको कारोबार र बजारले यही सुखद भविष्यतर्फ संकेत गरेको छ । 

यो दिन विभिन्न समूहको परिसूचकतर्फ ठूलो पहिरो समेत गएको देखिन्न । वाणिज्य बैंक समूह ३.९९ अंकले घट्दा बिमा समूहमा २२.७७ अंकको गिरावट देखियो । विकास बैंक समूह २.८५ अंकले बढ्यो भने बित्त समूह ४.७ अंकले घट्यो । होटल समूह सबैभन्दा धेरै ३४.८५ अंकले बढ्यो । उत्पादनमूलकमा ०.३५ अंकको झिनो बढोत्तरी देखियो भने जलविद्युत र अन्य समूहमा क्रमशः ४.४८ र २.६१ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
कुल १३० कम्पनीका ८ लाख ५० हजार बढी सेयर ३४ करोड २५ लाख रुपैयाँमा किनबेच भयो । 
वाणिज्य बैंकहरुले २१ करोडको हाराहारीमा कारोबार गरे भने बिमा कम्पनीहरुले ६ करोडको व्यापार गरे । विकास बैंकहरुले साढे ४ करोड बढीको कारोबार गरे । 

कम्पनीगत हिसाबले कारोबारमा प्रभूूले छलाङ मार्यो भने दोश्रो स्थानमा १ करोड ८२ लाखको कारोबार गरी स्ट्याण्डर्ड चार्टर्ड अडिन सफल भयो । सिद्धार्थ बैंकले १ करोड ८० लाख, नेपाल लाइफले १ करोड ४७ लाख, बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडले १ करोड २० लाखको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा मंगलबार ८ स्थानमा वाणिज्य बैंक हाबी भए । एक स्थानमा विकास बैंक र एक स्थानमा बिमा कम्पनी समेटिए । 

धेरै कमाउने र गुमाउने कम्पनी
मंगलबार पनि धेरै कमाउनेको सूचिमा ग्रीन डेभलपमेन्ट बैंक पर्न सफल भयो । यो बैंक र कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ता मालामाल भए । यी २ कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । राप्तिभेरी विकास बैंक लिमीटेडको सेयर मूल्य पनि ८ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

सिर्जना फाइनान्स बित्तीय संस्थाले धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा ओरालो लाग्यो । यस्तै, प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले पनि साढे ५ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाए ।