काठमाण्डौ । बजार केही समय स्थिर हुने संकेत देखिएको छ । नेप्से परिसूचकमा झिनो अंकको गिरावट आए पनि टर्नओभरले दिएको साथका कारण आगामी दिनमा बजारमा ठूलो उतारचढाव नहुने विश्लेषकहरुले दाबी गरेका छन् । 

मंगलबार नेप्से परिसूचक ४.०१ अंकले घटेर १२७४.९७ अंकमा झरेको छ । 

कारोबार रकम सोमबार नेप्से परिसूचकको वृद्धिको तुलनामा मंगलबार घट्दा समेत ४० करोड ४१ लाखको हुनुलाई राम्रो संकेतको रुपमा मान्न सकिन्छ । 

यो दिन २ समूहको परिसूचकमा बढोत्तरी भएको छ र बाँकी समूहको परिसूचक घटेको छ । तर गिरावट झिनो अंकको भएका कारण धेरै अत्तालिनुुपर्ने अवस्था नरहेको स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्यालले बताए । ‘परिसूचकमा १० अंकसम्मको घटबढ सामान्य हो ।’ उनले भने–‘कारोबारले बजारलाई साथ दिइरह्यो भने परिसूचकमा सामान्य गिरावट आए पनि बजार स्थिर हुने धेरै संभावना हुन्छ ।’  

मंगलबार सबैभन्दा बढी बिमा र जलविद्युत समूहको सूचक घटेका छन् । बिमा समूहमा ९३.४९ र जलविद्युतमा २७.१६ अंकको गिरावट आएको छ । वाणिज्य बैंक समूह १.६५ को झिनो अंकले घटेको छ भने बित्त, उत्पादनमूलक र अन्य समूह क्रमशः ०.७६, १.८६ र ०.८७ अंकले घटेका छन्। 

होटल समूहमा सबैभन्दा बढी ३३.५४ अंकको उछाल देखिएको छ भने विकास बैंक समूह २.३८ अंकले बढेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
मंगलबार बजारमा १ सय ३७ कम्पनीका कुल १० लाख ११ हजार ६ सय ८५ सेयर किनबेच भएको छ । 

कम्पनीगत हिसाबले मंगलबार प्रभूू बैंकले सबैभन्दा धेरै कारोबार गर्यो । यो बैंकको २ करोड ७२ लाख बढीको सेयर किनबे भयो । एनबी बैंकले २ करोड ४ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ९० लाख, लक्ष्मी बैंकले १ करोड ४४ लाख, शिखर इन्स्योरेन्सले पनि १ करोड ४४ लाख, बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडले १ करोड ३९ लाखको कारोबार गर्यो । नागरिक लगानी कोषको १ करोड ३१ लाख, नेपाल लाइफको १ करोड ३० लाख, स्ट्याण्डर्ड चार्टर्डको १ करोड २३ लाखको सेयर किनबेच भयो । 

धेरै कमाउने र गुमाउने कम्पनी
मंगलबार तीन कम्पनीले पैसा छापे । कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक, सगरमाथा इन्स्योरेन्स र ओमी माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

यस्तै, दिव्यश्वरी हाइडोपावर, नागबेली लघुवित्त विकास बैंक र यूनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले धेरै गुमाए । दिव्यसरीको सेयर मूल्य ९.७७, नागबेलीको ८.९२ र यूनाइटेडको ८.१५ प्रतिशतले मूल्य घट्यो ।