काठमाण्डौ । प्रमुख प्रतिपक्षी एमालेले बजेट भाषणपछि स्थानीय तहको निर्वाचन गर्न नमिल्ने बताएको छ। 

एमाले संसदीय दलको आइतबार बसेको बैठकले मधेसी मोर्चालाई सहमतिमा ल्याउन दुई चरणमा निर्वाचन गर्ने सरकारको प्रस्तावप्रति सकारात्मक भए पनि बजेटपछि दोस्रो चरणको निर्वाचन गर्न नमिल्ने अडान लिएको छ। 

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ मा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै बजेटपछि चुनाव गर्न नमिल्ने बताएका थिए। ‘निर्वाचन प्रभावित हुने गरी बजेट ल्याउने अनि चुनाव गर्ने मान्य हुन सक्दैन', बैठकमा ओलीले भने, ‘बजेट के गर्ने भन्नेमा सरकार स्पष्ट हुनुपर्छ।' 

संविधानले जेठ १५ गते बजेट सार्वजनिक गर्नै पर्ने दिन तोकेको छ भने सरकारले बजेटपछि जेठ ३१ गते दोस्रो चरणको निर्वाचनको मिति घोषणा गरेको छ। ‘एक एक महिना ग्याप राखेर दुई चरणको निर्वाचनको कुरा आएको छ,' ओलीले भने, ‘भोलि अर्को सरकार आउने। उसले जनता लोभ्याउने योजना वितरण गर्ला, त्यसले त निर्वाचन नै प्रभावित बनाउँछ', ओलीले भने। 

ओलीले बजेट पेस गर्नै पर्ने संवैधानिक विषयमा के गर्ने सहमति नभई बजेटपछि निर्वाचनबारे कुरा गर्न नमिल्ने बताए। मधेसकेन्द्रित दलको गठबन्धनलाई सहमतिमा ल्याउन सरकारले गरेको पहल सकारात्मक भए पनि सहमतिको लिखित दस्ताबेज नहेरी संविधान संशोधन प्रस्तावबारे केही भन्न नसकिने ओलीले बताएका थिए। 

‘सञ्चारमाध्यममा आएजस्तो राष्ट्रहित विपरीतका विषयमा सहमति जनाउन सकिँदैन', ओलीले भने, ‘तर मन्त्रिपरिषद्ले समर्थन गर्नलायक विषय ल्यायो भने हाम्रो असहयोग हुँदैन।' प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसकेन्द्रित दलको गठबन्धनसँग सहमति भएको र दुई चरणको निर्वाचनमा जानुपर्ने भयो भनी आफूसँग कुराकानी गरेको जानकारी ओलीले बैठकमा गराएका थिए। 

प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् बैठक स्थगन गरेर ओली भेट्न उनकै निवास बालकोट पुगेका थिए। ‘तपार्इंहरूबीचको लिखित सहमति र संविधान संशोधन विधेयक हेरेर कुरा गरौंला भनेर मैले प्रधानमन्त्रीसँग भनेको छु', बैठकमा जानकारी दिँदै ओलीले भने। भेटमा प्रधानमन्त्रीसँग ओलीले एमालेलाई जानकारी नदिई गठबन्धनसँग सहमति गरेकोमा असन्तुष्टि पनि पोखेका थिए। यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।