चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेटपछि आफ्नो नेतृत्वमा सरकार बन्ने सहमति नेकपा(एमाले)सँग भएको दाबी गरेका छन् । 

क्रान्तिकारी पत्रकार सङ्घ चितवनले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले लिखित रुपमा नभई दुई पार्टीका बीचमा नौ बुँदे सहमति हुँदा समझदारी भएको स्पष्ट पारे । 

यसअघि नै आफूले राष्ट्रिय सहमतिको सरकारमा जोड दिँदै आएको भन्दै उनले अब बन्ने सरकार पनि राष्ट्रिय सहमतिको सरकार हुनेमा आफू विश्वस्त रहेको बताए । संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण, मधेस समस्या समाधान र विकास निर्माणका लागि राष्ट्रिय सहमति जरुरी रहेको उनको भनाई थियो ।

 अध्यक्ष दाहालले भूकम्प गएलगत्तै राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेकाले दह्रोसँग उभिन तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई आफूले आग्रह गरेको भन्दै उनले संविधान जारी हुँदासमेत आफूले राष्ट्रिय सहमतिमै जोड दिएको चर्चा गरे । एक प्रश्नमा उनले अहिले राष्ट्रिय सहमति आफ्नो पक्षमा जुट्न सहज भएको पनि बताए । 
माफी मिनाहासम्बन्धी ऐन अन्तिम चरणमा पुगेको बताउँदै उहाँले द्वन्द्वकालीन मुद्दाहरू शान्ति प्रक्रियाअनुरुप टुङ्ग्याउनुपर्ने बताउनुभयो । सहमतिमै बजेट आउने बताउँदै उनले कार्यान्वयन पक्ष जटिल हुने गरी बजेट नआउने उल्लेख गरे । 

अदालतमा लिखित जवाफ पठाइने 
अध्यक्ष दाहालले सर्वाेच्च अदालतमा भोलि लिखित जवाफ पठाइने बताए । अदालतको मानहानीसम्बन्धी मुद्दामा उनलाई सर्वाेच्चले भोलिसम्म जवाफ दिन आदेश गरेको विषयमा कुरा गर्दै अध्यक्ष दाहालले अदालतको आफूले सम्मान गर्ने बताउँदै आफैँ जानुपर्ने नदेखिएकाले लिखित जवाफ लिएर वारेस पठाउने बताए । 

स्थानीय निर्वाचन सहमतिमा 
अध्यक्ष दाहालले स्थानीय निकायको निर्वाचन दलहरूको बीचमा सहमति गरेर समयको टुङ्गो लगाइने बताए । उनले फागुनको अन्त्यसम्ममा स्थानीय पुनःसंरचनाको आयोगको प्रतिवेदन आउने हुँदा त्यसअघि निर्वाचन नगर्न काँग्र्र्रेसले सुझाएको भन्दै सबैको सहमतिमा मिति तय हुने बताए । 

आयोगको प्रतिवेदनपछि गाउँपालिका, नगरपालिकालगायतका स्थानीय निकायहरूको निर्वाचन हुने हुँदा संविधान कार्यान्वयनलाई सहज हुने भन्दै उनले सबै दलको सहमतिमा चैत वैशाखमा निर्वाचन हुँदा राम्रो हुने बताए । मङ्सिरमा निर्वाचन गरेर फेरि छिट्टै निर्वाचन हुने हुँदा काँग्रेसले उठाएको विषयलाई पनि दलहरूले गम्भीर रुपमा लिएको उनले बताए ।