काठमाण्डौ । सरकारले शनिवार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटलाई पूँजीबजारले ग्रिन सिग्नल दिएन ।

पूँजीबजार, बैंक तथा बिमा क्षेत्रका लागि बजेटले राम्रो काम गरेको सरकारी अधिकारीहरुले दाबी गरे पनि लगानीकर्ताहरुले बजेटलाई ग्रिन सिग्नल दिएनन् । जसका कारण आइतबार नेप्से परिसूचकका अधिकांश समूहमा रातो पोतियो । 

समग्रमा नेप्से परिसूचक २.८४ अंकले तल झर्दै १५२२.२५ अंकमा आइपुग्यो । सरकारले सरकारी मात्र होइन, अब निजी घर बनाउँदा समेत बिमा गर्नुपर्ने अनिवार्य नियम लागू गर्ने घोषणा गरे पनि बिमाको सूचक अन्य दिनको तुलनामा खासै उत्साहजन ढंगले बढेन । अन्य बेला तेहेरो अंकले बढेको बिमाको सूचक आइतबार ३८.२५ अंकको वृद्धिमा सीमित रह्यो । जलविद्युत कम्पनीको विकास, बिस्तार र त्यस्ता योजनामा जनसहभागिता बढाउने सरकारी नीतिको प्रभाव चाहि सकारात्मक देखियो । जलविद्युत समूहको सूचक ७५.९२ अंकले उक्लियो । होटेल समूहको सूचक १२ अंकले उक्लियो । 

बाँकी सबै समूहको सूचकमा रातो पोतियो । सबैभन्दा बढी विकास बैंक समूहको सूचक ओरालो लाग्यो । यो समूहको सूचक ९.०८ अंकले तल झर्यो । वाणिज्य बैंक समूहको सूचक ८.७२ अंकले ओर्लदा बित्त समूहको सूचक ३.२७ अंकले तल भर्यो । अन्य समूहको सूचक भने स्थिर रह्यो । 

आइतबार १ सय २५ कम्पनीका २१ लाख ७९ हजार कित्ता शेयर १ अर्ब १८ करोड ९ लाख ७४ हजार रुपैयाँमा किनबेच भयो । विगत केही दिनदेखि पूँजीबजारमा कारोबार रकम १ अर्ब माथि हुँदै आएको छ । 

आइतबार सेन्सेटिभ इण्डेक्स र फ्लोट इण्डेक्स क्रमशः ०.८१ र ०.१८ अंकले ओरालो लागे । पश्चिमाञ्चल डेभलपमेन्ट बैंकसँग मर्जरको प्रक्रिया सकेर संयुक्त कारोबार समेत सुरु गरिसकेको मेगा बैंकको सेयर कारोबार आइतबारदेखि खुल्ला भएको छ । आइतबार यो बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

कारोबारको हिसाबले बिमा समूहहरु नै अगाडि रहे । सिद्धार्थ इन्स्योरेन्सको ६ करोड ७६ लाख, नेशनल हाइड्रोपावर कम्पनीको ६ करोड ४४ लाख, हिमालय जनरल इन्स्योरेन्सको ५ करोड ९४ लाख, शिखर इन्स्योरेन्सको ५ करोड ८९ लाख, नेपाल बंगलादेश बैंक लिमीटेडको  ५ करोड ४७ लाख बराबरको शेयर किनबेच भयो ।