काठमाण्डौ । सोमबार चारपटकसम्म अवरोध गरी संसद चल्न नदिएको कांग्रेसको माग सम्बोधन हुने गरी बजेटको सूचना चुहिएको बिषयमा छानबिन गर्न संसदीय समिति बन्ने सहमति बनेको छ । 

कांग्रेसले गत शनिवार अर्थमन्त्री विष्णु पौडेलले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि नै त्यसको सूचना एक पत्रिकामार्फत चुहिएको भन्दै छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने माग राखेको थियो । उसले सो मागलाई जोडदार रुपमा उठाउँदै सोमबारको सदन अवरुद्ध बनाएको थियो । 

प्रमुख प्रतिपक्षी दलले मंगलबार समेत सदन अवरुद्ध गर्ने तयारी गरेपछि सत्तारुढ दलको बैठकले उसको माग अनुसार बजेट चुहिएको बिषयमा छानबिन गर्न विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेका थिए । सोही निर्णय अनुसार मंगलबारको संसद बैठकमा एमाले प्रमुख सचेतक भानुभक्त ढकालले कांग्रेस सांसद रमेश लेखकको नेतृत्वमा विशेष समिति गठनको प्रस्ताव गरे । सो प्रस्तावलाई कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ र माओवादीका हितराज पाण्डेले समर्थन गरेका थिए । सो प्रस्ताव संसदले सर्वसम्मतिबाट स्वीकृत भएको छ । 

संसद सचिवालयका अनुसार सांसद लेखक संयोजक रहने समितिमा ८ जना सदस्य रहने र समितिले बजेटको सूचना चुहिएको बारेमा यथार्थ पत्ता लगाउने म्याण्डेड पाएको छ । समितिले छानबिनको काम १०५ दिनमा सक्नुपर्ने तोकिएको छ ।