काठमाण्डौ । नेपालका लागि मोरोक्को अधिराज्यका मानार्थ अवैतनिक महावाणिज्यदूत बसन्तकुमार चौधरी मोरोक्को अधिराज्यको प्रतिष्ठित पदक ‘अलाविटी अफिसर विसाम’द्वारा विभूषित भएका छन् । 

चौधरीले नेपाल र मोरोक्कोका जनताबीच आपसी सौहार्दता र द्विपक्षीय मित्रतामा प्रगाढता थप्ने कार्यमा पु¥याएको अतुलनीय योगदान र यी दुई राष्ट्रबीच विद्यमान मैत्रीपूर्ण दौत्य सम्बन्धलाई थप दरिलो पार्न गरेको अथक प्रयासका लागि पदक र सम्मान दिइएको हो ।

काठमाडौंमा आयोजित पदक विभूषण कार्यक्रममा भारत र नेपालका लागि मोरोक्को अधिराज्यका राजदूत लार्वी रिफोको स्वागत मन्तव्यबाट सुरु भएको थियो । उपप्रधान तथा परराष्टमन्त्री कमल थापाले चौधरीलाई पदक तथा सम्मानबाट विभूषित गरेका थिए ।

उपप्रधान तथा परराष्ट्र मन्त्री थापाले नेपाल र मोरोक्को बीच विद्यमान सुमधुर दौत्य सम्बन्धमा थप प्रगाढता थप्न चौधरीले गरेको हर प्रयासबाट आफू समेत प्रभावित भएको बताएका थिए । 

नेपालले चाहेको अवस्थामा मोरोक्को सरकारले कृषिजन्य उद्योग, सिँचाईका अत्याधुनिक प्रविधि, कृषि र पर्यटनका क्षेत्रमा पूर्वाधार निर्माण तथा मानव संशाधनको विकासमा साझेदारी, सहयोग, तालिम एवम् प्रविधि उपलब्ध गराउनसक्ने राजदूत लार्वीले सो अवसरमा बताए । 

मध्यपूर्व र युरोपबीच अवस्थित मोरोक्को अधिराज्य अति दू्रत गतिमा विकासोन्मुख अधिराज्य हो । कृषि, रासायनिक मल र पर्यटन मोरोक्को अधिराज्यका मुख्य आय–स्रोत हुन् भने उद्योग, खानी र माछा लगायतका समुद्री खाद्य पदार्थहरू यसका थप आय–स्रोतका माध्यम हुन् ।

यो विश्वकै अति दू्रत गतिमा अघि बढिरहेको पर्यटन गन्तव्य पनि हो, जसले हरेक वर्ष १ करोड २० लाख भन्दा बढी पर्यटकहरूलाई आकर्षित गरिरहेको छ ।