काठमाण्डौ । सत्तासीन दलहरुबीचको भागबण्डामा कुरा मिलेपछि सोमबार सरकारले १४ देशका लागि राजदूत नियुक्तिको सिफारिस गरेको छ । 

सोमबार बसेको मन्त्रीपरिषद बैठकले सत्तासीन दलहरुबीचको भागबण्डाका आधारमा रिक्त १४ देशमा नेपाली राजदूत सिफारिस गरेको हो । 

कांग्रेसबाट ६ जना, माओवादी केन्द्रबाट ४ जना र अन्य साना दलको भागबण्डाका आधारमा राजदूत सिफारिस गरिएको छ । सत्ता सहयात्री दलका नेपाली कांग्रेसबाट चोपलाल भूसाल बंगलादेश, विश्वम्भर प्याकुरेल श्रीलंका, अर्जुनजंगबहादुर सिंह दक्षिण कोरिया, भीम उदास म्यानमार, आशा लामा यूएई र रमेशप्रसाद कोइराला कतारका लागि राजदूत सिफारिस भएका छन् । यीमध्ये उदास एनआरएनका पूर्व उपाध्यक्ष हुन् भने भूसाल कांग्रेस नेतृ पुुष्पा भूसालका पति हुुन् । चोपलाल भूसाल पुुष्पाका पतिसँगै शिक्षण अस्पतालका नाक, कान र घाँटी विशेषज्ञ समेत हुन् । प्याकुरेल चाहि वरिष्ठ अर्थशास्त्री हुुन् । 

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको कोटामा परेका ४ राजदूतमा लक्की शेर्पा अस्टेलिया, पदम सुन्दास बहराइन, महेन्द्रबहादुर सिंह साउदी अरब र युवनाथ लम्साल डेनमार्कका लागि राजदूत सिफारिस भएका छन् । यीमध्ये शेर्पा पहिलो संविधानसभामा एमालेबाट सभासद भए पनि दोश्रो संविधानसभाअघि माओवादीमा प्रवेश गरेकी थिइन् । उनी अवसरवादीको रुपमा चिनिन्छन् । यस्तै, सुन्दास दलित अधिकारकर्मीको रुपमा चिनिएको नाम हो भने महेन्द्रबहादुर सिंह त्रिभुुवन विश्वविद्यालयका पूर्व प्राध्यापक हुन् । 

माओवादीपछि सबैभन्दा बढी राजदूतको कोटा राप्रपाले पाएको छ । उसले इजरायलका लागि निरञ्जन थापा, स्पेनका लागि भरत रायमाझी र जापानका लागि प्रतिभा राणाको नाम पठाएपछि सोही अनुसार क्याबिनेटले सिफारिस गरेको छ । यीमध्ये थापा पूर्व गृहराज्यमन्त्री हुन् भने रायमाझी नेपाली सेनाका पूर्व सहायक रथी हुन् । 

यस्तै, फोरम लोकतान्त्रिकले पाएको एक राजदूतको कोटामा शर्मिला पराजुलीको नाम सिफारिस भएको छ । उनलाई सरकारले ओमानका लागि राजदूत सिफारिस गरेको छ । उनी वैदेशिक रोजगार व्यवसायी समेत हुन् । उनको नियुक्तिको बिषयलाई लिएर निकै आलोचना समेत भएको थियो ।