काठमाण्डौ । सहरी विकास मन्त्रालयले बाग्मती नदी किनारको गोकर्ण ब्यारेजदेखि सिनामंगल क्षेत्रको ७ किमि क्षेत्रमा ‘हरित उद्यान’ बनाउन सुरु गरेको छ । मन्त्रालयका अनुसार एशियाली विकास बैंक (एडीबी) को  सहयोगमा परम्परागत शैलीको हरित उद्यान निर्माण प्रक्रिया अघि बढाएको छ ।

अधिकार सम्पन्न बाग्मती एकीकृत विकास समितिका प्रमुख राजेशप्रसाद सिंहका अनुसार बाग्मती नदीको बीच–बीचमा चेकड्याम निर्माण गरिनेछ । ‘परम्परागत शैलीको निकै आकर्शक पार्क निर्माण गछौं,’ उनले भने, ‘काम सुरु पनि भइसकेको छ ।’

नदी र सडकबीचको खाली १० मिटर भागमा हरित उद्यान निर्माण गरिने उनले बताए । त्यसपछि सडक भने दुई लेनको बनाइनेछ । नदीको ३ स्थानमा परम्परागत शैली भकारी आकारका संरचना निर्माण गरिनेछ । जसबाट मानिसले सजिलै नदीसम्म पुग्न सक्ने छन् । करिव २ अर्ब रुपैयाँमा निर्माण हुन लागेको उक्त उद्यान २७ महिनाभित्र सम्पन्न गरिने सिंहले बताए । ‘मृत बाग्मतीलाई जिवित तुल्याउने यो अभियान हो,’ उनले भने, ‘त्यसै अनुसार काम पनि भइरहेको छ ।’

गोकर्ण ब्यारेजदेखि जोरपाटी पुलसम्म ३५ मिटर, जोरपाटी पुलदेखि गुहेश्वरीसम्म ४० मिटर, गुहेश्वरीदेखि सिनामंगल सम्म करिव ३० मिटर नदीको बहाव कायम गर्दै दायाँ–बायाँ हरित उद्यान निर्माण गरिनेछ ।

हरियालीको बीचमा साइकल लेन, फुटपाथ समेत निर्माण गरिने, हालको गोकर्ण ब्यारेज रहेको स्थानमा पुलसमेत निर्माण गरिने उनले बताए ।

त्यसैगरी बाग्मतीको नागमतीमा ९० मिटर उचाईको ड्याम निर्माण कार्य लागि अध्ययन भइरहेको छ । आयोजनाका अनुसार जलाशय निर्माण गरि ८० लाख घन मिटर पानी जम्मा गरेर सुख्यायाममा प्रति सेकेन्ड ४ सय लिटर प्रति सेकन्ड पानीको बगाइनेछ । बाग्मतीबाट २ सय मेगावाटको विद्युत उत्पादन गर्न सकिने आयोजनाको अनुमान छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।