काठमाण्डौ । बिमा कम्पनीको चुक्तापूँजी चाँडै बढ्ने र त्यसको तयारी भइरहेको हल्लाका कारण सोमबार बजारले छलाङ मारेको छ । 

नयाँ बिमा ऐनमा बिमा कम्पनीको चुक्तापूँजी २ अर्ब हुने व्यवस्था हुने र यो व्यवस्थासँगै अहिले बजारमा अस्तित्वमा रहेका बिमा कम्पनीहरुले समेत पूँजी बढाउनुपर्ने भएकोले उज्वल भविष्य देखेका लगानीकर्ताहरु बिमातर्फ आकर्षित भएका देखिएको छ । 

सेयर बजारका लगानीकर्ताहरु माझ अहिले देशका केही ठूला उद्योगी व्यवसायीको समूहहरुले नयाँ बिमा कम्पनी ल्याउने गृहकार्य गरिरहेका र उनीहरुलाई त्यस्तो कम्पनी स्वीकृति दिंदा न्यूनतम चुक्तापूँजी २ अर्ब हुनैपर्ने प्रावधान राखिने तयारी भइरहेको हल्ला फैलिएपछि बिमा समूहमा आइतबारदेखि उछाल आएको हो । 

बजारमा ठूला उद्योगी व्यवसायीहरुले नयाँ बिमा कम्पनी ल्याउनै तयारीकै कारण बिमा ऐनको संसोधन केही समय स्थगित भएको र ती समूहलाई नयाँ कम्पनी संचालनको स्वीकृतिसँग सँगै बिमा ऐन पनि संसोधन हुने हल्ला फैलिएको छ । यस्तै, नयाँ बिमा ऐनमा बिमा कम्पनीको चुक्तापूँजी २ अर्ब हुने व्यवस्था हुने र यो व्यवस्थासँगै अहिले बजारमा अस्तित्वमा रहेका बिमा कम्पनीहरुले समेत पूँजी बढाउनुपर्ने भएकोले उज्वल भविष्य देखेका लगानीकर्ताहरु बिमातर्फ आकर्षित भएका देखिएको छ । बजारमा व्यापक रुपमा फैलिएको यो हल्लाले नेप्से परिसूचकलाई नै उछालको बाटोमा पुर्याए पनि हल्लाको सत्यताको बिषयमा बिमा समिति वा अर्थमन्त्रालय वा अन्य कुनै पनि सम्बद्ध संस्थाबाट आधिकारिक कुरा बाहिर आइसकेको छैन । 

बजार बढ्ने अन्य कारण
विश्लेषक तथा अनुुभवी ब्रोकरहरुले अन्य कम्पनीको सूचकमा समेत उछाल देखिएकोले बजार बढ्ने अन्य कारणहरु समेत रहेका बताएका छन् । स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्यालले बजार फेरि घट्ने हो कि भन्ने त्रासका बीच केही दिनसम्म पर्ख र हेरको रणनीतिमा रहेका संस्थागत लगानीकर्ताहरुले आक्रामक ढंगले लगानी बढाउँदा बजारमा उछाल आएको बताए । ‘लगानीयोग्य पूँजी हातमा लिएर पर्ख र हेरको अवस्थामा रहेका संस्थागत लगानीकर्ताहरु नेप्से बढ्न सुरु नभई बजारमा आउदैनन् ।’ उनले भने–‘बजार केही बढ्ने बुुझेका उनीहरुले आक्रामक रुपमा लगानी बढाउँदा यस्तो अवस्था आएको हो ।’ 

बजारमा कारोबार रकम समेत उच्च विन्दूमा पुुगेको उल्लेख गर्दै पौड्यालले छोटो समयमा नाफा लिएर सेयर बिक्री गर्नेको चाप समेत निकै देखिएको बताए । ‘बिक्री गर्नेहरु समेत धेरै भएकै कारण कारोबार रकम यति माथि पुुगेको हो ।’ उनले थपे–‘बाठा कारोबारीहरु केही नाफा राखेर सेयर बिक्रीमा अगाडि बढ्दा कारोबार रकम पनि यति धेरै माथि पुुगेको हो ।’ 

यस्तो रह्यो बजार
सोमबार नेप्से परिसूचक ४२.१९ अंकले बढेर १४२४.३८ अंकको उचाईमा पुुगेको छ । बिमा समूहको परिसूचक सबैभन्दा बढी ५६६.८३ अंकले वृद्धि भएको छ । परिसूचकमा मात्र नभई बिमा समूहकै उच्च योगदानका कारण कारोबार रकम पनि लामो समयपछि १ अर्ब माथि पुुगेको छ । बिमा समूहले मात्रै ५१ करोड १८ लाख बढीको कारोबार गर्यो । 

उत्पादनमूलक बाहेक सबै समूहको सूचकमा हरियाली छाएको छ । वाणिज्य बैंकमा २९.१३ अंकको उछाल आएको छ भने विकास बैंक र बित्त समूहमा क्रमशः ३९.३४ र १८.०२ अंकको वृद्धि देखिएको छ । यस्तै, जलविद्युत समूह ४४.२१, होटल समूह ७६.६२ र अन्य समूह १.७३ अंकले बढेका छन् । उत्पादनमूलक समूहमा भने ५.१२ अंकको गिरावट आयो । 

६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो भने १५ कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतकै हाराहारीमा वृद्धि भयो । 

''क'' वर्गका कम्पनीहरुको कारोबारमा उछाल आएका कारण सेन्सेटिभ इण्डेक्स ९.२२ अंकले बढेको छ भने समग्र कारोबार समेत उच्च हुँदा फ्लोट इण्डेक्स पनि ३.१६ अंकले बढेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
सोमबार १ सय ४० कम्पनीका कुल २५ लाख २७ हजार ५ सय ३५ कित्ता सेयर १ अर्ब २६ करोड ८५ लाख २१ हजार ८ सय ५५ रुपैयाँमा किनबेच भयो । समग्र सूचक र कारोबार बिमा समूहले उचाले पनि कम्पनीगत हिसाबले सबैभन्दा धेरै कारोबार प्रभूू बैंकले गर्यो । यो बैंकको ११ करोड बढीको सेयर किनबेच भयो । यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले ७ करोड ६१ लाख, नेशनल हाइडो पावर कम्पनी लिमीटेडले ६ करोड ११ लाख, एनबी बैंकले ४ करोड ९५ लाख, शिखर इन्स्योरेन्सले ४ करोड ९१ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले ४ करोड ३४ लाख, एनसीसी बैंकले ४ करोड बढीको कारोबार गरे । यस्तै, प्राइम लाइफ इन्स्योरेन्सले ३ करोड ५३ लाख, सिद्धार्थ इन्स्योरेन्सले ३ करोड १८ लाख र सानिमा बैंकले ३ करोड १६ लाख बढीको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थानमा बिमा समूह, ४ स्थानमा वाणिज्य बैंक र एक स्थानमा जलविद्युत कम्पनीको बर्चश्व रह्यो । 

धेरै कमाउने र गुुमाउने कम्पनी
सोमबार बिमा कम्पनीहरुले पैसा छाप्दा लगानीकर्ता मालामाल भए । ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो भने १५ कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतकै हाराहारीमा वृद्धि भयो । १० प्रतिशतले सम्पत्ति कमाउने कम्पनीहरुमा यूनाइटेड इन्स्योरेन्स, ओमी माइक्रो फाइनान्स, प्रिमियर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, समीट माइक्रो फाइनान्स र एभरेष्ट इन्स्योरेन्स रहेका छन् । यस्तै, १० प्रतिशतको हाराहारीमा सेयर मूल्य बढाउने कम्पनीहरुमा सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, फ्रस्ट माइक्रो फाइनान्स, एनबी इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रूडेन्सियल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रभूू इन्स्योेरेन्स, सूूर्य लाइफ इन्स्योरेन्स, रुरल माइक्रो फाइनान्स, विजय लघुवित्त बित्तीय संस्था, सेती फाइनान्स, लुम्बिनी जनरल इन्स्योरेन्स, जानकी फाइनान्स र एशियन लाइफ इन्स्योरेन्स रहेका छन् । अन्य बिमा कम्पनीको मूल्यमा समेत उच्च वृद्धि देखिएको छ । 

उछाल आएको बजारमा ७ कम्पनीलाई पनि दुुर्भाग्य भइदियो । सबैभन्दा धेरै माउण्ट मकालु डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्य ८.२३ प्रतिशतले घट्यो ।