काठमाण्डौ । बजेट वक्तव्यपछि केही दिनसम्म ओरालो यात्रामा रहेको बिमा समूहको बजार परिसूचकले बुधबार ऐतिहासिक फड्को मारेको छ । यो समूहको सूचक एकैदिन ३८७.२ अंकले बढेपछि समग्र बजार पनि उकासिएको हो । 

बजेट वक्तव्यपछि बजारमा फैलाइएको हल्लाका कारण पर्ख र हेरको अवस्थामा पुगेका लगानीकर्ता यूटर्न हुँदा बिमाको कारोबार एकाएक चम्किएको हो । बिमा समूहले बुधबार तेहेरो अंकको चमक ल्याए पनि बैकिङ समूहको उकालो यात्रा भने केही धिमा भएको छ । विकास बैंक समूहले आफूलाई राम्रै प्रगति पथमा डोहोर्याइरहेको छ । 

बुधबार होटल समूहको सूचक २७.९१ अंकले ओर्लिए पनि बाँकी सबै सूचकमा हरियो पोतियो । उत्पादनमूलक समूहको सूचक २५.९४ अंकले बढ्यो भने विकास बैंक समूहले १०.८३, जलविद्युत समूह ९.२३, बित्त समूह ३.६ तथा वाणिज्य बैंक समूह २.८२ अंकले उक्लिए । अन्य समूहको सूचक स्थिर देखियो । सेन्सेटिभ र फ्लोट इण्डेक्स क्रमशः ३.२८ र १.०७ अंकले उकालो लागे । 

बुधबार १३४ कम्पनीका १६ लाख ५२ हजार ६ सय ३६ कित्ता शेयर १ अर्ब २९ करोड १ लाख ६ हजार रुपैयाँमा किनबेच भयो । पूँजीबजारको दैनिक कारोबार एकअर्ब माथि भएको निकै दिन भइसक्यो । 

समूह सूचकमा सामान्य बढोत्तरी मात्र भए पनि सबैभन्दा बढी कारोबार गर्ने सूचिको पहिलो नम्बरमा नेपाल बंगलादेश बैंकले आफ्नो स्थान सुरक्षित गर्यो । यो बैंकले १४ करोड ४८ लाख बराबरको सेयर कारोबार गर्यो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १३ करोड, हिमालयन जनरल इन्स्योरेन्सको  १२ करोड १९ लाख, यूनाइटेड इन्स्योरेन्सको ६ करोड ४१ लाख, शिखर इन्स्योरेन्सको ५ करोड ५३ लाख बराबरको सेयर कारोबार भयो । बुधबार उत्कृष्ट कारोबार गर्ने १० कम्पनीको सूचिमा ७ स्थान बिमा कम्पनीले कब्जा गरे भने अरु बेला अगाडि रहेको वाणिज्य बैंक समूह ३ स्थानमा सीमित बन्नुपर्यो ।