काठमाण्डौ । बिमा कम्पनी र बैंकहरुले पूँजीबजारलाई बुलिस ट्रेण्डमा कुदाएका छन् । बुधबार शेयर बजार परिसूचकमा दोहोरो अंकको वृद्धि भई इण्डेक्स १५ सय नजिक पुगेको छ । 

बढ्दो गर्मीसँगै पूँजीबजारमा समेत सरगर्मी बढेपछि बुधबार उत्पादनमूलक र अन्य बाहेक सबै समूहको नेप्से परिसूचकमा हरियो पोतियो । 

नेप्से परिसूचक १२.७३ अंकले वृद्धि भई १४९६.४१ अंकमा पुग्दा कारोबार रकम पनि १ अर्ब नाघ्यो । बुधबार १ सय ३६ कम्पनीका १४ लाख २३ हजार कित्ता शेयर १ अर्ब २ करोड ७० लाखमा किनबेच भयो । 

साताको पहिलो र दोश्रो दिन दोहोरो अंकको हाराहारीको ब्रेक लागेको शेयर बजार मंगलबारदेखि बुल हुँदै अगाडि बढेको हो । मंगलबार समेत नेप्से परिसूचक दोहोरो अंकले नै बढेको थियो । सो दिन समेत बिमा र बैकिंग समूहले बजारको चमक फर्काएका थिए । 

बुधबार सबैभन्दा बढी बिमा समूहको परिसूचक १०९.५२ अंकले बढ्यो । होटल समूहको परिसूचक १६.४ अंकले बढ्दा वाणिज्य बैंक समूह १५.२७ अंकले उक्लियो । जलविद्युत, बित्त र विकास बैंक समूहको सूचक क्रमशः ८.८८, ५.८२ र २.२७ अंकले उकालो लागे । 

उत्पादनमूलक समूहको सूचक ३१.१३ अंकले ओरालो लाग्यो भने अन्य समूह पनि १.१८ अंकले तल झर्यो । सेन्सेटिभ र फ्लट इण्डेक्स क्रमशः २.८५ र १.०४ अंकले उक्लिए । 

बुधबार दिनभर सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोड ४२ लाख ९० हजार बराबरको शेयर किनबेच  भयो । नेपाल बंगलादेश बैंकको ६ करोड १७ लाख, एनएमबी बैंकको ४ करोड ५५ लाख, सानिमा बैंकको ४ करोड २८ लाख तथा ग्लोबल आइएमई बैंकको ३ करोड ९ लाख मूल्य बराबरको शेयर किनबेच भयो । बुधबार सबैभन्दा बढी शेयर कारोबार गर्ने १० कम्पनीमा ८ बैंक तथा २ बिमा रहेका छन् ।