काठमाण्डौ । साताको पहिलो कारोबारको दिन आइतबार बिमा समूहको नेप्से परिसूचकमा उछाल आउँदा समग्र सूचक समेत बढेको छ । 

नयाँ वर्षको पहिलो कारोबारको दिन १४०५ अंकमा पुगेको नेप्से परिसूचक आइतबार ३.६५ अंकले वृद्धि भई नयाँ र ऐतिहासिक १४०९.४३ अंकमा पुगेको हो । 

बिमा समूहको सूचक ६१.२ अंकले बढ्दा सबैभन्दा बढी शिखर इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । कम्पनीको शेयर मूल्य प्रतिकित्ता १८५ रुपैयाँले एकैदिन उकालो लागी २०३५ रुपैयाँ पुगेको छ । अन्य बिमा कम्पनीका लगानीकर्ताले समेत राम्रै कमाएका छन् । 

बैकिंग समूहको सूचक पनि दोहोरो अंक अर्थात १३.५६ अंकले बढेको छ । विकास बैंकको सूचक ७.१८, जलविद्युत समूहको ३.८९, फाइनान्स समूहको १.४५ अंकले उकालो लागेको छ । 

आइतबार अन्य समूह र होटल समूहका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । अन्य समूहको सूचक ५७.५६ र होटल समूहको सूचक २६.५२ अंकले ओरालो लागेको छ । 

आइतबार विभिन्न ११७ कम्पनीका ९ लाख २३ हजार ३१३ कित्ता शेयर२ हजार ९ सय ६७ वटा कारोबारबाट खरीदबिक्री हुँदा ६६ करोड १५ लाख ७६ हजार पूँजी परिचालन भयो । सेन्सेटिभ इण्डेक्स र फ्लट इण्डेक्स पनि क्रमशः ०.७९ र ०.७६ अंकले वृद्धि भए ।