काठमाण्डौ । नेपाल राष्ट्रबैंकले अघिल्लो वर्षको मौद्रिक नीतिमार्फत ल्याएको बैंक तथा बित्तीय संस्थाहरुको पूँजीवृद्धि गर्नुपर्ने व्यवस्थाका कारण धेरै संस्थाहरु बिलाएर गएका पाइएको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको समीक्षामा पूँजीवृद्धिको व्यवस्थापछि हालसम्म १२० बैंक तथा बित्तीय संस्थाहरु मर्जर र प्राप्ति(एक्वीजिसन) प्रक्रियामा सामेल भएकामा ७९ वटा संस्थाहरु बिलाएका देखिएको हो । 

‘मर्जर र प्राप्तिमा गएकामध्ये ७९ वटा संस्थाहरुको इजाजत खारेज हुन गई ४१ संस्था कायम रहेका छन् ।’–रिपोर्टमा भनिएको छ । 

विकास बैंकमा बढ्दै विश्वास
समीक्षा रिपोर्टमा उल्लेख भए अनुसार कात्तिकसम्मको अवस्था हेर्दा विकास बैंकहरुमा पैसा राख्नेहरुको संख्या बढेको देखिएको छ । समीक्षा अवधि(कात्तिक मसान्तसम्म)मा बैंक तथा बित्तीय संस्थाहरुको निक्षेप ३.९ प्रतिशतले वृद्धि भएको बताइएको छ । अघिल्लो वर्ष यही अवधिमा निक्षेप ३ प्रतिशतले मात्र बढेको थियो । 

वाणिज्य बैंकमा निक्षेप ४ प्रतिशतले र विकास बैंकमा चाहि ४.८ प्रतिशतले वृद्धि भएको छ । तर बित्त कम्पनीहरुको निक्षेप चाहि ११.५ प्रतिशतले घटेको छ । 

चालु आर्थिक वर्षको कात्तिकसम्ममा बैंक तथा बित्तीय संस्थाहरुको सबैभन्दा धेरै कर्जा लगानी घरजग्गामा नै रहेको देखिएको छ । यो क्षेत्रमा मात्र बैंकहरुले २७० अर्ब ४० करोड कर्जा प्रवाह गरेका छन् । बैंक तथा बित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६०.७ प्रतिशत घरजग्गाको धितोमा, १४.९ प्रतिशत कर्जा चालु सम्पत्तिको धितोमा प्रवाह भएको छ । 

कात्तिक मसान्तसम्मको अवधिमा कृषि क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ७.३, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा ७ प्रतिशत, सेवा तथा उद्योगतर्फको कर्जा ८.१ प्रतिशत र यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.१ प्रतिशतले बढेको छ । 

केन्द्रीय बैंकले अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा सेयर बजारमा भने आमूल सुधार भएको दाबी गरेको छ । प्रतिवेदनका अनुसार चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा कुल सेयर कारोबार रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५७.१ प्रतिशतले वृद्धि भएको छ । चालु आबदेखि नै नेप्सेको कारोबार समय बढाइएको र नेप्से परिसूचकमा समेत ठूलो वृद्धि भएका कारण नै कारोबार रकमले यसरी फड्को मारेको केन्द्रीय बैंकको निश्कर्ष छ ।