पटना । मदिरामाथि पूर्ण प्रतिबन्ध लगाएको नेपालको सीमावर्ती भारतको बिहार सरकारले एकवर्षका लागि गुट्खा र पान मसलामाथि पनि प्रतिबन्ध लगाएको छ । 

एकवर्षका लागि लगाइएको यो प्रतिबन्ध २१ मेबाटै कार्यान्वयनमा आएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् । 
राज्य सरकारको तर्फबाट जारी आदेशमा भनिएको छ कि गुट्खा र पान मसला बनाउन, बिक्री गर्न, एक ठाउँबाट अर्को ठाउँमा लैजान, कसैलाई देखाउन वा एक ठाउँमा जम्मा गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । 

सरकारले खाद्य विभागसँग सम्बन्धित अधिकारीहरुलाई विभिन्न टोली बनाएर गुट्खा र पान मसलामाथिको पूर्ण प्रतिबन्धलाई सफल बनाउन संभावित ठाउँहरुमा छापामारी गर्न, जाँच अगाडि बढाउन कडा निर्देशन दिएको छ । 

प्रतिबन्धको अवज्ञा गर्ने व्यक्ति कानूनको नजरमा दोषी हुने र उसलाई त्यहाँको खाद्य सुरक्षा एवम् मानक अधिनियम २००६ अनुसार कडा कारबाही हुने सरकारले स्पष्ट पारेको छ । 

बिहार सरकारले गत अप्रील १ देखि मदिरामाथि समेत पूर्ण प्रतिबन्ध लगाइसकेको छ । भारतको बिहार बाहेक दिल्लीमा पनि गुट्खा र पान मसला प्रतिबन्धित छ । 

गुट्खा र सूर्तिको सेवनकर्तालाई क्यान्सर हुने अध्ययनहरुले देखाएपछि स्वस्थ्य जनशक्तिको विकास र विकृति अन्तका लागि बिहार सरकारले मदिरापछि गुट्खातर्फ ध्यान मोडेको बताइएको बीबीसीले लेखेको छ ।