काठमाण्डौ । बुटवल पावर कम्पनी(बीपीसी) लिमीटेडले एफपीओ जारी गर्ने भएको छ । यो कम्पनीले एकसय रुपैयाँ अंकित मूल्यमा ३ सय ७० रुपैयाँ प्रिमियम थपी प्रति कित्ता ४ सय ७० रुपैयाँको दरले एफपीओ जारी गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई लिखित पत्र पठाउँदै ४ सय ७० रुपैयाँको दरले कुल ४० लाख ८१ हजार कित्ता एफपीओ निश्कासन गर्ने बताएको हो । यो कम्पनीले प्रस्ताव गरेको मूल्यमा एफपीओ गर्नका लागि तयार गरेको प्रक्षेपित विवरण र वास्तविक विवरणमा २० प्रतिशत बढीको विचलन देखिएमा सोको कारणसहित सार्वजनिक पत्रपत्रिकामा प्रकाशित गरेको प्रतिबद्धता समेत जनाएको छ । 

यो कम्पनीले एफपीओबाट संकलन भएको रकम ३७.६ मेगावाटको काबेली ए जलविद्युत आयोजना तथा ३० मेगावाटका न्याग्दी जलविद्युत आयोजना निर्माणमा लगाउने लक्ष्य लिएको छ ।

यो कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १३ करोड ९ लाख खूद नाफा आर्जन गरेको छ । एफपीओपछि यो कम्पनीको चुक्तापूँजी २ अर्ब २१ करोड र जगेडा कोष १ अर्ब ५० करोडको उचाईमा पुुग्नेछ ।