काठमाण्डौ । भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको र बैध आयभन्दा बढी खर्च देखिएको भन्दै अख्तियारद्वारा पक्राउ नेपालका वरिष्ठ पत्रकार तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित राजाको शासनकालमा राजतन्त्रविरोधी आन्दोलनमा नागरिक समाजको ब्यानमार अग्रपंक्तिमा थिए । तपाईंले बुझेको र जानेको कुरा यही हो । तर कसैले तपाईंलाई एकाएक ‘राजाको शासनकालमा कनकमणि दीक्षित सरकारको मुख्यसचिव थिए’ भन्छ भने तपाईलाई रत्तिभर विश्वास लाग्दैन । तर उनी पक्राउ परेलगत्तै एउटा निकै चर्चित अन्तर्राष्ट्रिय मिडियाले लेखेको कुराले उनलाई विश्वभरि नै नेपालमा राजाको शासनकालमा सरकारको ‘मुख्यसचिव’ बनाइदिएको छ । 

कनकमणि दीक्षितले राजाको शासनकालमा मुख्यसचिव बनाउने अरु कोही नभएर संसारमै चर्चित बीबीसी हो । बीबीसीको सामाग्रीलाई धेरैले मन पराउँछन् । बीबीसी नेपाली र हिन्दी रेडियो तथा अन्य कार्यक्रम निकै प्रभावकारी छन् । यहाँ प्रस्तुत हुने सामाग्री समेत स्रोताहरुले विश्वास गरेर सुन्छन । तर २३ अप्रिलको दिन बीबीसी हिन्दीको अनलाइन संस्करणमा पोष्ट भएको ‘भ्रष्टाचार आरोपमा पत्रकार गिरफ्तार’ शीर्षकको समाचारमा यस्तो ब्लण्डर गल्ती देखिएको हो । 

समाचारको अन्तिम प्यारामा भनिएको छ–‘कनकमणि नेपालमा राजतन्त्रको दौरान सरकारका मुख्यसचिव थिए ।’ फेरि समाचारमा लगत्तै भनिएको छ–‘उनी राजतन्त्रविरुद्ध चलेको आन्दोलनको एक महत्वपूर्ण हिस्सा नै थिए ।’ आखिर बीबीसीले यस्तो विरोधाभास समाचार किन लेख्यो होला ? समाचार पोष्ट भएको एकदिन बित्दा समेत यो समाचारको गल्तीप्रति बीबीसीले माफी मागेको छैन वा गल्ती सच्याएको छैन । यस्तै हो भने सबैले प्रश्न गर्नेछन्–‘मिडियामा आफूलाई संसारको मसिहा ठान्ने बीबीसीको समाचार सामाग्री अब कसरी पत्याउने ? के आधारमा पत्याउने ?’