काठमाण्डौ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा पत्रकार बालकृष्ण चापागार्इंले उम्मेदवारी घोषणा गरेका छन् । उनी एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारीका पूर्वअध्यक्ष हुन् । 

चापागार्इंले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफू मेयरको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । एमालेबाट बुटवलको प्रमुखका लागि धेरै आकांक्षी रहेको अवस्थामा चापागाईंले आफूलाई नै एमालेले उम्मेदवार बनाउने विश्वास व्यक्त गरे । चापागार्इंले भने, ‘यसपटकको चुनावमा बुटवलको मेयरका लागि एमालेबाट धेरैजना योग्य रहे पनि पार्टीले बालकृष्ण चापागाईंलाई नै उम्मेदवार घोषणा गर्छ भन्ने विश्वासका साथ उम्मेदवारी घोषणा गर्दछु ।’

एमालेले निर्णय नगर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् । तर, आफू स्वतन्त्र उम्मेदवार भने नबन्ने उनको भनाइ छ । आफू २०५४ सालको स्थानीय निर्वाचनमा पनि मेयरको आकांक्षी भएकाले अहिले पनि मेयरका लागि आकांक्षा राख्नु स्वाभाविक भएको चापागाईंको भनाइ छ ।

‘मैले ०३५-३६ सालदेखि नै तत्कालीन नेकपा मालेको विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेको हुँ, अनवरत रूपमा पञ्चायती व्यवस्थाविरुद्ध, प्रजातन्त्र स्थापनाका लागि र लोकतान्त्रिक आन्दोलनमा क्रियाशील रहँदै आएकाले मेरो उम्मेदवारी स्वाभाविक हो,’ उनले भने ।

यसअघि उनी नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष, प्रेस चौतारी केन्द्रीय अध्यक्ष र राष्ट्रिय समाचार समिति अध्यक्षसमेत भएका थिए । हाल उनी बुटवलबाट प्रकाशित दैनिक पत्रका प्रधान सम्पादक छन् । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।