काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा युवा उद्योगपति शेखर गोल्छाले आफ्नो प्यानलसहित बुटवलबाट उम्मेद्वारी घोषणा गरेका छन् । 

हाल एशोसिएसटतर्फका उपाध्यक्ष गोल्छाले पदाधिकारीको टिमसहित बुटवलमा गएर आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । यसअघि किशोर प्रधान समूहले विराटनगरबाट आफ्नो उम्मेद्वारी घोषणा गरेको थियो । 

गोल्छाको प्यानलबाट वस्तुुगत संघ तर्फको उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षका लागि दिनेश श्रेष्ठ र एशोसिएसट तर्फका उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकालले उम्मेद्वारी दिएका छन् । यो टिमबाट कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान चुनावी मैदानमा उत्रिएका छन् ।  

वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका गोल्छा देशकै प्रतिष्ठित गोल्छा परिवारका सदस्य हुुन् । उनी नेपालका सेलिब्रेटी युवा उद्योगी पनि हुन् । उनले विभिन्न क्षेत्रको उद्योग तथा व्यवसायको सफल नेतृत्व गरिरहेका छन् । 

वस्तुुगततर्फ उपाध्यक्षका उम्मेद्वार उमेशलाल श्रेष्ठ औषधि उत्पादक हुुन् । एशोसिएट तर्फ उपाध्यक्षका उम्मेद्वार चन्द्रप्रसाद ढकाल पनि चिनिएको नाम हो । उनी आइएमई समूहका अध्यक्ष हुन् । रेमिटान्स विजिनेशको पर्याय आइएमई, यस्तै ग्लोबल आइएमई बैंक लगायत कयौं सफल व्यवसायको उनले नेतृत्व गरिरहेका छन् । 

जिल्ला नगर उपाध्यक्षबाट उम्मेद्वार बनेका दिनेश श्रेष्ठ अहिले पनि महासंघको उपाध्यक्षकै रुपमा कार्यरत छन् । गोल्छा प्यानलबाट कोषाध्यक्षको उम्मेद्वार बनेका ज्ञानेन्द्रलाल प्रधान चाहि नाम चलेका सेयर लगानीकर्ता हुन् । उनको विभिन्न जलविद्युत आयोजना निर्माणमा लगानी सहभागिता रहेको छ । 

गोल्छा प्यानललाई महासंघका अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष(भावी अध्यक्ष) भवानी राणाको समर्थन रहेको छ । गोल्छा समूहको दाबी अनुसार उनीहरुलाई ५५ बढी जिल्लास्थित उद्योग वाणिज्य संघका अध्यक्षहरुले समर्थन गरेका छन् ।