काठमाण्डौ । अघिल्लो साता करेक्सनको मोड समातेर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा यो साताको सुरुवातदेखि नै बुलिस टे«न्ड देखिएको छ । सोमबार पनि पूँजीबजारमा उछाल आई नेप्से परिसूचक दोहोरो अंकले बढेर १५ सय नजिक पुगेको छ । 

सोमबार नेप्से परिसूचक १०.२१ अंकले उकालो लागी १४८२.९० अंकमा पुगेको हो । सूचकमा दोहोरो अंकको उछालसँगै कारोबार रकम पनि एकअर्ब नजिक पुगेको छ । 

सोमबार बजारमा १ सय ३२ कम्पनीका १५ लाख ७९ हजार कित्ता शेयर कारोबार हुँदा ९९ करोड ९२ लाख रुपैयाँ पूँजी परिचालन भयो । नेपाल बंगलादेश बैंक लिमीटेडले सबैभन्दा धेरै १ लाख ६२ हजार ५ सय कित्ता शेयर किनबेच भयो । 

बजारलाई एकाएक माथि उचाल्न बिमा समूह र बैंकहरुप्रति लगानीकर्ताको आकर्षण मुख्य कारण रह्यो । अघिल्लो साता तीन दिनसम्म ओरालो लागेको बिमा समूहको सूचक सोमबार ८२.०६ अंकले उकालो लाग्यो । वाणिज्य बैंक समूहको सूचक ८.३४ अंक तथा विकास बैंक समूहको सूचक ८.१६ अंकले उक्लिए । 

सोमबार सबै समूहको सूचक हरियो भयो । अन्य समूहको सूचकमा ११.७५, होटल समूह ७.९७, बित्त समूह ४.६८ तथा जलविद्युत समूह ०.११ अंकले उक्लिए । 

कारोबारको हिसाबले सबैभन्दा बढी नेपाल बंगलादेश बैंकको ११ करोड बढीका शेयर किनबेच भए । एनआइसी एशिया बैंकको पनि ७ करोड ४२ लाख, ग्लोबल आइएमई बैंकको ४ करोड ४२ लाख मूल्यको शेयर किनबेच भयो । नेपाल लाइफ इन्स्योरेन्सले समेत सोमबार एकैदिन ३ करोड ८६ लाखको व्यापार गर्यो । अन्य दुर्य बिमा कम्पनीले समेत कुस्त कमाए । सेन्सेटिभ इण्डेक्स २.२७ अंकले माथि लाग्दा फ्लट इण्डेक्स ०.७७ अंकले उक्लियो ।