काठमाण्डौ । भारतको उत्तर प्रदेशमा अवस्थित वृन्दावनमा विश्वकै सबैभन्दा ठूलो धार्मिक संरचना चन्द्रोदय मन्दिर निर्माण भइरहेको छ । 

चन्द्रोदय मन्दिर २ सय मिटर भन्दा धेरै अग्लो हुनेछ । साढे पाँच एकड क्षेत्रमा बन्ने यो मन्दिरमा ७० तला हुनेछ । 

अहिलेसम्म विश्वको सबैभन्दा ठूलो धार्मिक संरचना मिश्रको पिरामिड हो, जुन १२८.८ मिटर अग्लो छ । यस्तै, भेटिकनको सेन्ट पिटर ब्यासलिका १२८.६ मिटर अग्लो छ । 

कृष्णका भक्तहरुका लागि यो मन्दिरको डिजाइन तयार गरिएको हो र थ्रोनटन टोमासेट्टी नामको संस्थाले यो डिजाइन तयार गरेको हो । यो संस्था हालसम्म मलेशियाको पेटोनास टावर, ताइवानको ताइपेइ १०१ तथा विश्वको सबैभन्दा अग्लो महल साउदी अरबको जेद्धा टावरको निर्माणमा समेत जुटिरहेको बीबीसी हिन्दीले लेखेको छ । 

यो मन्दिरको निर्माण गरिरहेको छ कृष्ण भक्तहरुको संगठन इस्कन बैंगलोरले । 

रकेट आकारको चन्द्रोदय मन्दिर भूकम्प प्रतिरोधी हुनेछ । यो मन्दिरको निर्माणमा ४५ लाख घनफिट कंक्रिट तथा करिब साढे २५ हजार टन रडको प्रयोग हुनेछ ।